इटहरी, ११ असार । मनसुन सुरुभएसँगै सुनसरी जिल्लाको विभिन्न क्षेत्रमा बाढीको प्रकोप बढेपछि इटहरी उपमहानगरपालिका क्षेत्रमा जनस्तरबाट विभिन्न राजनीतिक दल सामाजिक सङ्घ संस्थाको पदाधिकारी समेतको वृहत छलफलबाट विपद् व्यवस्थापन समितिको गठन भएको छ ।
विपद् व्यवस्थापनलाई ध्यानमा राखेर गठित समितिमा नेपाली काँग्रेस इटहरी उपमहानगर सभापति हेमकर्ण पौडेलको संयोजकत्वमा समिति गठन भएको छ । पौडेलसहित एमाले नगर अध्यक्ष रेवतीप्रसाद घिमिरे, नेकपा (माओवादी) केन्द्रका नगर प्रमुख सागर सुवेदी र अन्य राजनीतिक दलका प्रमुखका साथै नागरिक समाजका तर्फबाट दिनेश रसाइली, सङ्गित साधना प्रतिष्ठानका महासचिव राजु केसी, पत्रकार व्दय सचिन पोख्रेल र लिलाराज भट्टराई सदस्य रहेका छन् ।
समितिले विपद्का बेला आइपर्नसक्ने सम्भावित क्षतिलाई न्यूनीकरण गर्ने र राहत व्यवस्थापन कार्य गर्न इटहरी उपमाहानगरपालिकालाई समितिले सिफारिस गर्ने छ । संयोजक पौडेलले अब इटहरीमा सम्भावित बाढीस्थान पहिचान गरी रोकथाम गर्ने कार्य गरिने बताए । बाढीले औद्योगिक करिडोर क्षेत्रमासमेत डुबानमा पारेकाले लाखाैँको नोक्सानी भइरहेको तर्फ समितिले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।