दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार एकै दिन आफ्नो निर्वाचन क्षेत्रमा दुई अर्ब रुपैयाँ बराबरको योजनाहरुको शिलान्यास गरेका छन् ।
झापाको क्षेत्र नं ७ का सांसद समेत रहेका प्रधानमन्त्री ओलीले उनको निर्वाचन क्षेत्रमा रहेको दमक नगरपालिका भित्रका ठूला चार योजनाहरुको शुक्रबार शिलान्यास गरेका हुन् ।
आफ्नो निर्वाचन क्षेत्रमा रहेको दमक नगरपालिकाको ढुकुरपानीमा एक अर्व २४ करोडको लागतमा बन्न लागेको भ्यु टावरको शिलान्यास पछि मोरङको मधुमल्ला र दमक जोडने मावा खोलामा ३० करोड २२ लाख रुपैयाँको लागतमा बन्ने भनिएको पुलको प्रधानमन्त्री ओलीले शिलान्यास गरे ।
प्रधानमन्त्री ओलीले पश्चिम दक्षिण इलामको चुलाचुली र झापाको लखनपुरलाई दमकसम्म जोडने रतुवा खोलामा बन्ने भनिएको पुलको पनि शिलान्यास गरे । प्रधानमन्त्री ओलीबाट शिलान्यास फाल्गुनन्द अन्तरराष्ट्रिय सभागृहको पनि शिलान्यास भयो । शुक्रबार शिलान्यास भएका सबै योजनाहरुको लागत मूल्य दुई अर्ब भन्दा बढी हुन आउँछ ।
उनकै क्षेत्रमा अन्तरराष्ट्रिय स्तरको रंगशाला, औद्योगिक पार्क र विश्वकै ठूलो भनिएको बुद्धको मूर्ति बनाउने समेतका योजनाहरु आगामी आर्थिक बर्षको बजेटमा परिसकेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विकास सबैको साझा मुद्दा भएकाले राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्न जरुरी रहेको बताए । उनले विकास तथा समृद्धितर्फ देशलाई रुपान्तरण गर्न सबै जुट्न सके केही पनि असम्भव नरहेको बताए । प्रधानमन्त्री ओलीले दमकलाई नमुना सहर ‘स्मार्ट सिटी’ बनाउने अठोट लिएको समेत बताए ।