झापा । प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र झापाको चौथो स्थापना दिवस बिहीवार सुरुङ्गाको धनुषकोटीधाममा सम्पन्न भएको छ ।
साझेदारी संस्थाका प्रतिनिधि मात्र सहभागी गराई केन्द्रले औपचारिक कार्यक्रमसहित वनभोज खाएर दिवस मनाएको हो ।
अर्जुनकुमार लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा जल सिँचाइ उपभोक्ता महासङ्घ झापा अध्यक्ष विष्णु खतिवडा, सामुदायिक वन उपभोक्ता महासङ्घ झापा अध्यक्ष छत्र पौडेल, सुकेडाँगी सावका उपाध्यक्ष कमल ढकाल लगायतले मन्तव्य राखेका थिए ।
केन्द्रकी राष्ट्रिय स्रोतव्यक्ति संगीता थापाले संस्थाले हालसम्म गरेका गतिविधि तथा भावी दिनमा गर्ने कामका बारेमा जानकारी गराइन् । जिल्ला सहजकर्ता हिमा मगरले स्वागत गरेको कार्यक्रमको सञ्चालन कुमार पौडेलले गरेका थिए ।
केन्द्रले जल, जमिन र जङ्गलमा देखिएका विवादलाई दीगो रुपमा समाधान खोज्दै आएको छ । हालसम्म देशभर ६० भन्दा बढी ठूला द्वन्द्वमा यसले काम गरिरहेको छ । झापामा पनि धेरै वटा द्वन्द्वका मुद्दा रुपान्तरणको प्रक्रियामा रहेको स्रोतव्यक्ति थापाले बताइन् ।