काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन गृह मन्त्रालयले अघि बढाएको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति सहित फिर्ता पठाएको छ ।
सो प्रस्ताव मन्त्रिपरिषद्मा पेस हुने चरणमा छन् । सरकारले अध्यादेश ल्याएर प्रहरीमा ३० वर्ष सेवा गरेपछि अवकाशमा जानुपर्ने बाध्यात्मक व्यवस्थालाई हटाउन लागेको छ ।
३० वर्ष सेवा गरेपछि अवकाशमा जानुपर्ने व्यवस्था हटाएर निश्चित उमेर हद पुरा गरेपछि सेवाबाट अवकाश लिने गरी प्रहरी ऐन–०१२ लाई संशोधन गर्नुपर्ने गृह मन्त्रालयको प्रस्ताव छ । प्रस्तावमा प्रहरी नियमावली–०७१ को नियम १२७ लाई ऐनमा समावेश गर्न भनिएको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) अहिले ३ वटा अवस्था पुरा गरेपछि अवकाशमा जाने कानुनी व्यवस्था छ । ३० वर्ष सेवा अवधि, ५८ वर्षको उमेर हद र आईजीपी भएपछिको चार वर्ष कार्यकाल पुरा गरेर ।
तर, सरकारले अहिले ३० वर्षे सेवा अवधि हटाएर उमेर हद मात्रै लागु गर्ने गरी ऐन संशोधन गर्न लागेको छ । गृह मन्त्रालयका एक जना उच्च अधिकारी भन्छन्–‘आईजीपीको कार्यकाल ३ वर्ष राख्न प्रस्ताव गरिएको छ ।’
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को उमेर हद ५७ वर्ष बनाउन प्रस्ताव गरिएको छ । डिआईजीको उमेर हद ५६ वर्ष, एसपी र एसएसपीको ५६ वर्ष बनाउन प्रस्ताव गरिएको छ । प्रहरी जवान र हवल्दारको उमेर हद ५१ वर्ष, जुनियर अधिकृतको ५४ वर्ष तथा इन्स्पेक्टर र डिएसपीको ५५ वर्ष कायम गर्न प्रस्ताव गरिएको छ ।