दमक । दक्षिण कोरियामा रोजगारी गर्ने झापाका युवाहरुले गाउँमा इन्टरनेट अभियन्ता महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।

आइतबार झापामा हाम्राे जमर्को नेपालको अायोजना तथा शब्द घर नेपाल र झापाली युवा सरोकार समाजको सहकार्यमा भएको कार्यक्रममा खोज तथा अनुसन्धानका लागि हाम्रो जमर्को नेपाल दक्षिण कोरियाले कोरियामा बस्ने नेपालीहरुबाट संकलित रकम पुनलाई हस्तान्तरण गरेको हो।
हस्तान्तरण कार्यक्रममा बोल्दै संस्थाका सदस्य पर्शु लामाले प्रविधिको विकासले मात्र देशको विकास सम्भव भएका कारण आविष्कार केन्द्रलाई उक्त रकम हस्तान्तरण गरेको बताए।
सहयोग रकम लिएपछि राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष महावीर पुनले विज्ञान र प्रविधिको विकासमा सरकार उदासीन रहेको बताए। देश विकासको सजिलो माध्यम विज्ञान र प्रविधिको विकासमा सरकाले केही पनि काम गर्न नसकेको उनले आरोप लगाए। ‘अमेरिका, जापान, चीन लगायतका विकसित देशहरु पनि प्रविधिका कारण विकास भएका हुन्, तर नेपाल सरकारले प्रविधिको विकासमा चासो नै दिदैन’उनले भने। सरकारसंग ४ वर्षदेखि आविष्कार केन्द्रका लागि सहयोग माग्दा समेत सरकारले चासै नदिएकाले जनतामाझ आएको पुनले बताए।