जगदुल्ला गाउँपालिकाले आफ्नै प्रशासकीय भवन बनाएको छ । स्थानीय सरकार गठन भएको दोस्रो वर्षदेखि निर्माण सुरु गरिएको उक्त भवनको केही समयअघिमात्रै निर्माण सम्पन्न भएको थियो ।
जिल्लाका आठ स्थानीय तहमध्ये सबैभन्दा पहिला तयार पारेको सुविधासम्पन्न प्रशासकीय भवनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरे ।
यससँगै मुख्यमन्त्री शाहीले वडा नं ६ मा कक्षा ५ सम्म पढ्न मिल्ने गरी बनाइएको दलित आवासीय विद्यालयको समेत उद्घाटन गरेका थिए ।
गाउँपालिका भवन उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णाली सुनको थुप्रो भएकाले सदुपयोग गर्न जान्नुपर्ने बताए ।
कर्णालीका प्रचुर सम्भावनाको सरकारले पहिचाहन गरिरहेको उल्लेख गर्दै उनले आफू नेतृत्वको सरकार कर्णालीको भाग्यरेखा कोर्न दत्तचित्त भएर लागिपरेको बताए। त्यस्तै अर्थमन्त्री गोपाल शर्माले जगदुल्ला हाइड्रोपावरले नै जनताको भविष्य सुनिश्चित गर्नेमा जोड दिए ।