झापा । कोरोना भाइरसका कारण मानिसहरु लामो समयसम्म घरभित्रै बस्नपर्ने अवस्था सिर्जना भयो । मानिसको दैनिक क्रियाकलापदेखि मनोरञ्जनका माध्यम समेत बद्लियो ।
कोरोना भाइरस नियन्त्रणको लागि भन्दै सरकारले लकडाउन जारी गर्यो ।
लकडाउनको समयमा देशभरका अधिकांश सिनेमा हलहरुदेखि व्यापार व्यवसाय समेत बन्द रहे ।
कोरोना भाइरस शुरुवात हुनु अघिसम्म मनोरञ्जनका लगि घुम्न कतै निस्कने वा सिनेमा हल धाउने मानिसहरुको स्वभावमा समेत परिवर्तन आएको छ ।
हिजोआज मानिसहरु सिनेमा हल बन्द रहेका कारण इमेल इन्टरनेटमा नै समय बिताउन थालेका छन् । जसका कारण सिनेमा हलहरुले करोडौं रुपैयाँको घाटा व्यहोर्न बाध्य भए ।
त्यस्का अतिरिक्त मनोरञ्जनको एउटा साधन चलचित्र हल बन्द हुँदा गुमेको आर्थिक आर्जन अहिलेसम्म पनि उठ्न सकेको छैन। अन्य क्षेत्र विस्तारै बामे सर्दै उठ्न थाल्दा सिनेमा क्षेत्र भने अहिले सुतिरहनु परेको अवस्था छ।
करोडौं रुपैयाँ लगानी गरेर नेपाली चलचित्र बनाउने अवस्था नभएका कारण सिनेमा हलहरु अझै पनि तत्काल संचालनमा आउने अवस्था नरहेको झापाको बिर्तामोडस्थित रहेको ‘क्युएफएक्स’ सिनेमा हलका संचालक मिजास पोख्रेल बताउँछन् ।
लामो समयदेखी जारी गरिएको लकडाउन खुलेर अन्य क्षेत्रहरु सामान्य अवस्थामा फर्किन थालेपनि सिनेमा हलहरु अझैपनि कहिलेबाट पुरानै शैलिमा फर्किन्छ भन्ने यकिन नभएको उनी बताउँछन् ।
‘करोडौं रुपैयाँ घाटा भइसकेको छ । कहिले हलहरु खुल्ने हुन् केही थाहा छैन ।’ उनी भन्छन्, ‘सरकारले हामीलाई केहीमा पनि सहयोग गरेन । हामीले बैंकमा बुझाउनुपर्ने ब्याज र बिजुलीको बिल समेत हामीले तिरिराखेका छौं । ‘
सिनेमा हलहरु बन्द रहँदा हजारौं मानिसहरुले रोजगार समेत गुमाए । पोख्रेलका अनुसार सिनेमा हल बन्द रहँदा देशभर करिब ५ हजार भन्दा धेरै मानिसहरु बेरोजगार बनेका छन् ।
त्यस्तै झापाको बिर्तामोडमा रहेको अर्को सिनेमा हल सिने प्लाजाका संचालक युवराज प्रसाईं पनि सिनेमा क्षेत्रलाई सरकारले नहेरेको गुनासो गर्छन् ।
लकडाउनका कारण बन्द रहेका हरेक क्षेत्र चलायमान बन्दै गएको अवस्थामा सिनेमा क्षेत्र कहिलेबाट संचालनमा आउँछ भन्नेसम्म थाहा नहुनु पिडादायी रहेको उनी सुनाउँछन् ।
‘लकडाउनको समयको विद्युत महशुल मिनाहा गर्ने भनिए पनि हामीहरुले तिरिराखेका छौं । घर भाडाबापतको रकम समेत बुझाएकै छौं । बैंकको ब्याज पनि बुझाएकै छौं ।’ उनी भन्छन्, ‘लकडाउनकै समयमा हामीले करोडौं रुपैयाँ घाट ब्यहोरेका छौं । तर सरकारले हामीलाई बिजुली बापतको मासिक शुल्क समेत मिनाहा गरिदिएको छैन । ‘
चार्डपर्व नजिकिएसँगै सिनेमा हल खुल्छन् भन्ने आम मानिसको आशा निराशामा परिणत भएको छ ।
करोडौ रुपैयाँ लगानी गरेर फिल्म बनाउने अवस्था नरहेको सिनेमा हल संचालकहरुले बताउँदै आएका छन् ।
सरकारले लकडाउनको समयको बिजुली बापतको मासिक शुल्क मात्रै भए पनि मिनाहा गरिदिए आफूहरुलाई राहत हुने संचालकहरुले बताउँदै आएका छन् ।

