बिर्तामोडको सैनिक मोड नजिक रहेको एउटा होटलमा खाजा खाँदै गरेका दुई महिला र दुई पुरुषको भिडियो खिचेर सामाजिक सञ्जालमा हालेको विषय अहिले चर्चाको विषय बनेको छ।
त्यो भिडियो खिचेर सामाजिक सञ्जालमा हालेर सार्वजनिक गर्ने ‘युट्युबर’माथि कडा कारबाहीको माग गरिएको छ।
भिडियोमा स्पष्ट देखिएको छ – त्यहाँ प्रहरी पनि उपस्थित छन्। त्यहाँ उपस्थित प्रहरीलाई हेक्का थिएन भिडियो खिच्ने काम गैरकानुनी हो भन्ने? व्यक्तिगत चरित्र हत्या गर्ने नियतले खिच्दै गरेका बेला प्रहरीले रोक्न किन सकेन?
इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यसंग जिज्ञासा राख्दा जाहेरी परे कानुनी कारबाही गर्न प्रहरी तयार छ भन्ने जवाफ पाइयो। यस्तो कुरामा सार्वजनिक अपराधको मुद्दा आकर्षित हुन्छ कि हुँदैन?
चाहे पत्रकार होस् चाहे जोकोही, कसैको व्यक्तिगत जीवनमाथि खेलबाड गर्ने अधिकार छैन। कानुन भन्दा माथि कोही छैन। जाहेरी नपरे पनि त्यस्ता क्रियाकलाप गर्नेलाई खोजेर प्रहरीले कारबाही गरोस्। नत्र व्यक्तिगत चरित्र हत्याका यस्ता घटना फेरि नदोहोरिएला भन्न सकिन्न।