झापा । झापाको बिर्तामोडस्थित मुक्तिचोकदेखि भद्रपुर जाने ४ किलोमिटर बाटो चार लेनको बन्यो ।
सडक फराकिलो भएसँगै बिर्तामोडवासीले हिउँदमा धुलो र बर्खामा हिलोबाट केही हदसम्म भए पनि राहत पाएका छन् ।
निर्माणको क्रममा सडककाबिचमा डिभाइडर राखिएको छ । जसले गर्दा सडकको आकर्षणसमेत बढेको स्थानीयबासीले बताउँदै आएका छन् ।
डिभाइडर बनाइएको ठाँउमा अहिले झार पलाएको देख्न सकिन्छ । तर वास्तवमा डिभाइडर किन राखिएको हो भन्ने यकिन जानकारी स्थानीयबासी कसैलाई पनि छैन । उनीहरूलाई अनुमान छ ‘यो फूल रोप्नका लागि बनाइएको हो।’
स्थानीय केही युवाहरूले आफूखुशी डिभाइडरमा फूल रोप्ने तथा अन्य विभिन्न किसिमका बिरुवाहरूसमेत रोपेका छन् ।
बिर्तामोड नगरपालिकाले भने डिभाइडरकोबिचमा मलिलो माटो हालेर फूल रोप्ने जनाएको छ । नगर प्रमुख ध्रुवकुमार शिवाकोटीका अनुसार नगरपालिकाले बाणिज्य संघ, बैंक तथा वित्तिय संस्था तथा बिर्तामोडमा रहेका अन्य विभिन्न संघ संस्थाको सहकार्यमा फूल रोप्ने बताएको छ ।

‘विभिन्न संघ संस्थाको सहकार्यमा फूल रोप्ने भनिएको हो तर ठेकदारले मलिलो माटोको साटो गिटी र बालुवा हालिदिएकोले हामी अलमलमा परेका छौ ।’
उनी भन्छन्, ‘कस्ता खालमा फूल रोप्ने र कहिलेबाट रोप्ने भन्ने कुरा सबै सम्बन्धित निकायसँग छलफल गरेर तय गर्छौं ।’
यता निजी क्षेत्रको प्रतिनिधित्व गर्ने संस्था उद्योग बाणिज्य संघले भने विभिन्न ३ किसिमका कार्यक्रमको परिकल्पना गरेको संस्थाका महासचिव अर्जुनकुमार मैनाली बताउँछन् ।
‘बाणिज्य संघ एक्लैले फूल रोप्ने, स्थानीय तहसँगको सहकार्यमा फूल रोप्ने र स्थानीय तह एक्लै फूल रोप्ने गरी ३ वटा कार्यक्रमको परिकल्पना हामी गरिरहेका छौं ।’ उनी भन्छन्, ‘कसरी काम गर्ने भन्ने कुरा तय हुन बाँकी छ । ‘

डिभाइडरलाई के गर्ने भन्ने कुरा सबैको चासोको बिषय बनेको स्थानीयले बताउँदै आएका छन् ।
ठेकेदारका सडक निर्माणको काम सम्पन्न गरिसके पनि नगरले त्यसलाई सौन्दर्य थप्ने काम अघि बढाउन सकेको छैन।