इलाम । इलाम इजलासको परिसर भित्र मृत फेला परेकी महिलाको हत्या भएको पुष्टी भएको छ ।
सोलुखुम्बुको सल्यान गाउँपालिका घर भइ हाल इलाम नगरपालिका–७ मा भाडामा बसोबास गरी सोही कार्यालयमा कार्यरत ४८ बर्षीया बिमला देवी निरौला पराजुली २८ गते सोमवार बिहान अन्दाजी ७ बजे कार्यालय परिसरमा मृत फेला परेकी थिइन् ।
महिला मृत अवस्थामा रहेको भन्ने सूचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठ सहितको प्रहरी टोलीले घटनाको बारेमा अनुसन्धान शुरु गरेको छ ।
थप अनुसन्धानको लागी संघीय प्रहरी इकाइ धरानबाट तालिम प्राप्त कुकुर सहितको विशेषज्ञ टोली झिकाई अनुसन्धान गर्ने क्रममा सोही कार्यालयमा सुरक्षा गार्डको रुपमा कार्यरत ३५ बर्षीय युवराज बानियाको संग्लग्नता रहेको देखिएको थियो ।
बानियाको संग्लग्नता देखिएसँगै उनलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका बानियाले उक्त घटनामा आफ्नो संग्लग्नता रहेको स्विकार गरेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।