मोरङ । रकम ठगी गरेको आरोपमा मोरङ रतुवामाई नगरपालिका–१० बाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
वनको कर्मचारी तथा पत्रकार भनी रकम ठगी गर्ने २ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका ६ जुटबिकासका ५० बर्षीय दधिराम चौहान र मोरङ सुन्दरहरैचा नगरपालिका ७ का ५६ बर्षीय पुष्प प्रसाद सिग्देल रहेको प्रहरीले जनाएको छ ।
असार ४ गते बेलुका ६ बजे रतुवामाई १० स्थितमा रहेको पूर्ण बहादुर श्रेष्ठको माईवेनी स–मिलबाट रकम उठाउन आएको बेला प्रहरीले बिशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले नगद ३२ हजार ९ सय ९५ रुपैयाँ, सृष्टि साप्ताहिक तथा सन्देश दैनिक समाचार पत्र लेखिएको रसिद प्याड १ थान, उठाएको रकम अभिलेख भएको डायरी १ थान, कान्तिपुर पोष्टको बजार व्यवस्थापक परिचय पत्र १ थान, जनमत साप्ताहिकको सम्वाददाता परिचय पत्र १ थान, बराह साप्ताहिकको सम्वाददाता परिचय पत्र १ थान बरामद गरेको छ ।
बरामद भएको रकम अभिलेख डायरीमा मोरङको विभिन्न स्थानमा बस्ने २५ जनाबाट जनही १ हजार देखी ११ हजार ५ सय सम्म उठाएको उल्लेख गरिएको छ ।
पक्राउ परेका चौहान र सिग्देलमाथि ठगी कसूरमा थप अनुसन्धान कार्य भईरहेको छ ।