खबरमञ्च, विर्तामोडः विगत केही महिनादेखि लगातार अलैंचीको मूल्य ओरालो लागेपछि किसान तथा व्यवसायी चिन्तित बनेका छन् । गत बर्ष एक मनको एक लाख १५ हजार रुपैयाँसम्म पुगेको अलैंचीको मूल्य अहिले ७० हजार रुपैयाँमा झरेपछि उच्च मूल्यको आशमा सञ्चित गरेर राखेको अलैंची नबिक्ने अवस्थामा पुगेको किसान तथा व्यवसायी बताउँछन् । त्यस्तो सञ्चित अलैंची कुल उत्पादनको करीब ६० प्रतिशत रहेको उनीहरुको दाबी छ ।
विगत केही बर्षदेखि लगातार उकालो लागेको अलैंचीको मूल्य एक्कासी ओरालो लागेपछि उच्च मूल्यको आशमा अलैंची सञ्चित गरेर राखेका किसान चिन्तित बनेका छन् । जिर्मले ३ सलकपुर इलामका किसान सुवास तामाङका अनुसार अलैंचीको घट्दो मूल्यले किसान धेरै चिन्तित छन् । उनले भने, ‘बढेको भाउको लोभले धेरैले अलैंची सञ्चित गरे । तर अहिले मारमा परे ।’
गत बर्ष अलैंचीको भाउ एक लाख १५ हजार रुपैयाँसम्म पुगेको थियो । त्यसबेला किसान तथा व्यवसायीले मनग्गे आम्दानी गरेका थिए । तर यो बर्ष अलैंचीको मूल्य ७० हजारको आसपासमा झरेपछि व्यवसायीहरु समेत संकटमा परेका छन् । एकजना अलैंची व्यवसायी सुजित बंशलले अलैंचीको मूल्य घटनुको कारणबारे भने, ‘भारतमा र भुटानमा अलैंचीको फसल राम्रो भयो । हाम्रो अलैंची भने किसानदेखि व्यापारीसम्मकै गोदाममै रहे ।’
व्यवसायीका अनुसार अलैंचीको मूल्य यही प्रकारले ओरालो लागे नाफा आर्जन गर्न त परै जाओस लगानी समेत डुब्ने अवस्थामा छ । विशेषगरी नेपालका पूर्वी पहाडि जिल्लाहरुमा उत्पादन हुने मसलाको रुपमा प्रयोग हुने अलैंची भारत हुँदै पाकिस्तान तथा खाडी मुलुकहरुमा निर्यात हुने गर्दछ । तर किसान तथा व्यवसायीकै कमजोरीका कारण अलैंचीको व्यापार डुब्ने अवस्थामा पुगेको अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले बताए ।
कृषि सूचना तथा सञ्चारको तथ्यांक अनुसार नेपालमा बार्षिक १२ हजार मेट्रिक टन अलैंची उत्पादन हुँदै आएको छ ।