Author: admin
काठमाडौँ । मोबाइल डिभाइस म्यानेज्मेण्ट सिस्टम (एमडीएमएस) प्रणाली तत्काल लागू नगर्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले पुष १५ गते शुक्रबारदेखि पूर्णरुपमा एमडीएमएस प्रणाली लागू गर्ने योजना बनाएको थियो । नेपालको भन्सार कार्यालयमा दर्ता नभएका मोबाइल चलाउन नपाउने गरि एमडीएमएस प्रणाली लागू हुन लागेपछि यसको व्यापक विरोध भएको थियो । नेपाल दूरसञ्चार प्राधिकरण श्रोतकाअनुसार प्रधानमन्त्री कार्यालयबाट एमडीएमएस प्रणाली लागू नगर्न निर्देशन आएको छ ।
झापा । कम्बोडियाको एक क्यासिनोमा भएको आगलागीमा परि झापाका एक पुरुषको मृत्यु भएको छ । आगलागीको घटनामा परि मृत्यु भएकामध्ये झापा बिर्तामोड १ का निराकर पाण्डेको पनि मुत्यु भएको हो । उनी बिर्तामोड नगरपालिका वडा नं १ का वडाध्यक्ष अग्नी पाण्डेका माइला छोरा हुन् । पोइपेटस्थित ग्रान्ड डायमन्ड सिटी क्यासिनोमा बुधवार अबेर राति लागेको आगो निभाउन १२ घण्टाभन्दा बढी लागेको थियो । थाइल्याण्डका वारुणयन्त्र पनि आगो निभाउन पोइपेट पुगेका थिए ।
काठमाडौँ । गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन्। यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन्। यो पर्व गुरुङ समुदायले ’तो ल्हो’ (बाघ वर्ग)को बिदाइ गर्दै ‘हि ल्हो’ (बिरालो वर्ग)को स्वागत गरेर भव्य रूपमा मनाउने गर्दछन् । यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् । सरकारले तमु ल्होसारको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिइएको छ ।
काठमाडौं । क्रिसमसको पूर्वसन्ध्यामा चितवन पुगेका पूर्वराजा ज्ञानेन्द शाहका परिवारले अंग्रेजी नयाँ वर्ष चितवनमै मनाउने निश्चय भएको छ । जगतपुरमा खुल्न लागेको पाँचतारे होटल सोल्टीमा नयाँ वर्ष मनाउने योजनासहित उनी सपरिवार चितवन पुगेका हुन् । बिहीबार पूर्व राजा ज्ञानेन्द्रका भाइ धिरेन्द्रका तीन छोरी पूजा, दिलासा र सिताष्मा पनि चितवन पुगेका छन् । करिब एक सातादेखि चितवनमा रहेका ज्ञानेन्द्रले राजनीतिक भेटघाट गरेको बुझिएको छ । राजासहितको प्रजातन्त्र खोजिरहेको राप्रपाका केही नेताले पूर्वराजा ज्ञानेन्द्रसँग सरकारमा जाने वा नजाने विषयमा छलफल गरेको स्रोतको भनाइ छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग राजनीतिक रूपमा नजिक रहेका पूर्वराजा ज्ञानेन्द्रले आफ्नो एजेन्डा स्थापित गराउन पहल गरिरहेका छन्…
काठमाडौँ । सत्ता साझेदार दलहरूको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम निर्माण गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा समिति बनाउने निर्णय गरेको छ । बैठकले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने पनि निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरूको बैठकले प्रत्येक दलबाट न्यूनतम साझा कार्यक्रम बनाउने समितिमा १-१ जना नेताहरूलाई सदस्यको रूपमा जिम्मेवारी दिने गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । उनले मन्त्रिपरिषद् विस्तारका विषयमा पनि सामान्य छलफल भएको बताए । मन्त्रिपरिषद्मा क्षमताका आधारमा सांसदहरूलाई जिम्मेवारी दिइनेबारे बैठकमा छलफल भएको उनको भनाइ थियो ।
काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनीत गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले एमाले सङ्घीय संसदीय दलको विधान २०७७ बमोजिम सांसद देवेन्द्र दाहाललाई राष्ट्रिय सभा संसदीय दलको नेतामा मनोनीत गरेका हुन् । एमालेबाट राष्ट्रियसभामा यसअघि नेता खिमलाल भट्टराई दलको नेता थिए । चुनावअघि भट्टराईले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएसँगै उक्त पद रिक्त थियो । मनोनीत दाहाल यसअघि दलका प्रमुख सचेतक थिए । राष्ट्रिय सभामा नेकपा एमालेका १६ सांसद छन् । अध्यक्ष गणेश तिमिल्सिना पनि एमालेकै हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको छ। बिहीबार बिहान सत्ता गठबन्धनको बैठक बसेको हो। बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत सहभागी छन्। प्रचण्ड ७ दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए। प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक अहिलेको सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसेको हो।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटारमा सरेका छन् । बुधबार साँझ प्रचण्ड खुमलटारबाट बालुवाटार सरेका हुन् । बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई कर्मचारी, सुरक्षाकर्मी लगाएतले स्वागत गरेका थिए भने प्रधानमन्त्रीको सम्मानमा सलामी अर्पण गरिएको थियो । त्यसलगतै पूजापाठपछि उनी मुख्य भवनमा प्रवेश गरेका थिए । निवासको चाबी प्रधानमन्त्री पुत्री गंगा दाहालले जिम्मा लिइन् । प्रचण्डलाई आइतबार मुलुकको ४४ औ प्रधानमन्त्रीका रुपमा नियुक्त गरिएको थियो ।
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेट्न उनको निजी निवास ललितपुरको खुमलटार पुगेका छन्। एमाले अध्यक्ष ओली करिब २ वर्षपछि प्रचण्ड निवास खुमलटार पुगेका हुन्। ५ पुस २०७७ मा संसद् विघटन गर्नु अगाडि तत्कालीन प्रधानमन्त्री ओली तत्कालीन नेकपाका अध्यक्ष रहेका प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए। ७ दल सम्मेलित सत्ता गठबन्धनमा शक्ति बाँडफाँटको विषयमा छलफल जारी रहेका बेला ओली प्रचण्डलाई भेट्न बुधबार बिहान खुमलटार पुगेका हुन्। ओलीलाई भेट्नु अगाडि बुधबार बिहान प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए।
बागलुङ । जिल्लाका विभिन्न स्थान भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राति जिल्लाका विभिन्न स्थान केन्द्रविन्दु भइ तीनपटक भूकम्प गएको हो । केन्द्रका अनुसार १ बजेर २३ मिनेट जाँदा बागलुङको अधिकारी चौर आसपास केन्द्रविन्दु भएर ४.७ रेक्टरस्केल, २ बजेर सात मिनेट जाँदा खुङ्गा आसपास केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केल तथा बिहान ३ बजेर २८ मिनेट जाँदा अधिकारी चौर आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भएको सो केन्द्रले जनाएको छ । नेपालको हिमालय क्षेत्र भूकम्पका लागि जोखिमको क्षेत्र भएको केन्द्रले जनाएको छ ।