बिराटनगर । प्रदेश १ को प्रदेश सभाको बैठक तेश्रो पटक अवरुद्ध भएको छ ।
प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीले प्रदेश सभाको सोमबारको बैठक पनि अवरुद्ध गरे ।
प्रदेश सरकार आफैँले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनमा लैजान नसकेको भन्दै प्रदेशसभाको बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ ।
सोमबारको बैठक पनि दलहरुले अवरुद्ध गरेपछि बैठक वैशाख ५ गते दिउँसो १ बजेसम्मको लागि स्थगित भएको छ ।
प्रदेश सभाको सातौँ तथा हिउँदे अधिवेशनको सातौँ बैठक शुरु भएसँगै सभामुखले बैठक सञ्चालन गरेपछि सबै विपक्षी दलहरुले उठेर सदन अवरुद्ध गरेका थिए ।
सदन अवरुद्ध गरेपछि सभामुखको भूमिका निर्वाह गरेकी उपसभामुख सरस्वती पोखरेलले दलहरुको तर्फबाट आफ्ना कुरा राख्न आग्रह गरेकी थिइन् ।
विपक्षी दलको तर्फबाट बोल्दै जनता समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादवले विपक्षी दलहरुले उठाएको माग तत्काल सम्बोधन नहुँदासम्म सदन सुचारु हुन नदिने स्पष्ट पारे ।
यादवले सरकार आफैँले ल्याएको रातो किताबको नीति बजेट तथा कार्यक्रम कार्यान्वयन हुन नसक्नुलाई सरकारको असक्षमता भएको बताए ।