बिराटनगर । प्रदेश १ को मन्त्रिमण्डल शुक्रबार बिस्तार हुने भएको छ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीका अनुसार मुख्यमन्त्री शेरधन राईले मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन्।
गत पुस १२ गतेयता मुख्यमन्त्रीसहित चारवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मुख्यमन्त्री राईले प्रदेश सरकार विस्तारको तयारी थालेका हुन्।
तत्कालीन नेकपाका ३७ जना प्रदेशसभा सदस्यले पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता गराएको अविश्वास प्रस्ताव प्रदेशसभामा टेबल भएको छ।
अविश्वास प्रस्ताव दर्तापछि अल्पमतमा परेका मुख्यमन्त्री राईको सरकार सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै मजबुत भएको छ।
मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरुले सामूहिक फिर्ता लिने घोषणा गरेका छन्।
बन्न लागेका नयाँ मन्त्रीहरूमा टंक आङ्बोहाङ र उषकला राईको नाम चर्चामा रहेको छ।