काठमाडौं । प्रमुख सत्तारूढ घटक नेकपा माओवादी केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
नयाँ वानेश्वरस्थित संसद भवनमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले महाभियोगको पक्षमा मतदान गर्ने र यसका लागि समर्थन जुटाउने निर्णय गरेको हो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सांसदहरूलाई महाभियोगको प्रस्ताव अघि बढाउन निर्देशन दिएको बैठकपछि माओवादी नेता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
महाभियोग प्रस्तावको पक्षमा अन्य दलसँग पनि सहमति जुटाउने काम पनि भइरहेको उनले बताए । नेपाली कांग्रेससँग पनि महाभियोगको पक्षमा सकारात्मक कुरा भइरहेको प्रचण्डले बैठकमा जानकारी गराएका थिए ।
माओवादी संसदीय दलको बैठकले महाभियोग प्रस्तावको पक्षमा अनिवार्य मतदान गर्न आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ । यसअघि फरक प्रयोजनका लागि हस्ताक्षर संकलन गरेर महाभियोग प्रस्ताव दर्ता गरिएको भन्दै माओवादीका कतिपय सांसदले असन्तुष्टि जनाएका थिए ।
संसदीय दलको आइतवारको बैठकपछि महाभियोग प्रस्तावबारे माओवादीभित्र अस्पष्टता हटेको नेताहरूले बताएका छन् ।