भद्रपुर । पूर्व प्रधानसेनापति रुकमाङ्गत कटवालले संविधान संसोधन गरेर नेपाललाई हिन्दु राष्ट्र घोषणा गरिनु पर्ने बताएका छन् ।
हिन्दु राष्ट्र पुनः स्थापना मेची महाकाली अभियानको ताप्लेजुङ्गमा उद्घाटन गर्न जाने क्रममा झापाको भद्रपुर प्रेस क्लबले आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, ‘सीमित नेताले मध्यरातमा गरेको निर्णयबाट देशलाई धर्मनिरपेक्ष बनाइएकोमा अहिले उनीहरुलाई पश्चताप भएको छ ।’
हिन्दु राष्ट्र पुनः स्थापनाका महाअभियन्ता समेत रहेका कटवालले संविधान संशोधनबाट हिन्दु राष्ट्र घोषणा नगरिने हो भने जनमत संग्रह गरेर निर्णयमा पुग्नु पर्ने बताए ।
धर्मको विषयमा विखण्डन ल्याएर धार्मिक क्षेत्रमा भ्वाँङ पारेको भन्दै उनले देखेसो पोखे । कार्यक्रममा बोल्दै राष्ट्रिय हिन्दु एकता मञ्चका अध्यक्ष इन्द्रप्रसाद ओलीले अभियानको बारेमा प्रष्ट्याए ।
क्लबका अध्यक्ष गोविन्दचन्द्र क्षेत्रीको अध्यक्षता तथा कटवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन महासचिव उत्तम नेपालले गरेका थिए ।