काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध एमाले र माओवादीले दर्ता गराएको महाअभियोग प्रस्तावमा कांग्रेसको भूमिका कस्ताे हाेला भन्ने चर्चा काे विषष बनेकाे छ । केन्द्रीय कार्य समिति बैठकमा जानै लाग्दासम्म कांग्रेसका केन्द्रीय सदस्यहरु अन्योलमा छन् ।
तर, कांग्रेस सभापति शेरबहादुर देउवामाथि पार्टीभित्रैबाट चर्को दवाब परेको छ । पार्टीको एउटा तप्का लोकमानलाई जोगाउनुपर्ने पक्षमा छ भने अर्को तप्का महाअभियोग लगाएर उनलाई हटाउनुपर्ने पक्षमा छ । सभापति देउवा लोकमानबारे मौन देखिएका छन् ।
अब संसदले प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । तर, यसमा संसदको ठूलो दल नेपाली कांग्रेसको भूमिका के हुन्छ भन्ने धेरैको चासो छ । किनकि कांग्रेसले साथ नदिँदासम्म लोकमानविरुद्ध महाअभियोग लगाउन सम्भव छैन । लोकमानलाई अख्तियारबाट हटाउने कि थमौती गर्ने भन्ने अब लगभग नेपाली कांग्रेसकै हातमा छ । र, यसबारे आज बस्ने कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुँदैछ ।
लोकमानविरुद्ध महाअभियोग प्रस्ताव दर्ताको अगुवाइ गर्ने मध्येका एक एमाले प्रमुख सचेतक भानुभत्त ढकाल महाअधियोग प्रस्ताव गर्दा गर्नुपूर्व कांग्रेससँग छलफल भएको दाबी गर्छन् । कांग्रेसले पनि यसमा साथ दिने एमाले र माओवादीका नेताहरुको दाबी छ ।
तर, कांग्रेसले अहिलेसम्म यसबारे बोलेको छैन । महाअभियोग प्रस्ताव दर्तापछि यसबारे सोध्दा कांग्रेसका धेरै नेताहरुले यसबारे कुनै छलफल नभएको बताउँछन् ।
-अनलाइन खबर