काठमाडौं, कात्तिक ३ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका लागि अन्तिम ड्राफ्ट तयार भइरहेको संसदलाई जानकारी गराएका छन् ।
बुधबार संसद बैठकमा समय लिएर प्रधानमन्त्री दाहालले आन्दोलनरत पक्षको माग पूरा गर्न संशोधनको प्रस्ताव तयार भइरहेको बताएका हुन्। प्रधानमन्त्री दाहालले छठसम्म संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने गरी काम भइरहेको उल्लेख गरे ।
औपचारिक वार्ता र छलफलबाट वाद विवाद बढेको भन्दै सरकारले विभिन्न पक्षसँग अनऔपचारिक छलफललाई प्राथामिकता दिएको जानकारी दिए ।
‘छठसम्म विभिन्न पक्षसँग समझदारी बनाएर संशोधन प्रस्ताव संसदमा पेश गर्ने तयारी भइरहेको छ, प्रधानमन्त्री दाहालले संसदमा भने, ‘सरकारले विभिन्न पक्षसँग अलग अलग छलफल गरेर संशोधनका लागि वातावरण बनाउने प्रयास गरिरहेको छ ।’
असन्तुष्ट पक्षको माग सम्बोधन गरेर संविधान कार्यान्वयनमा सरकारले ध्यान दिएको उहाँले दाबी गरे । संसदमा प्रधानमन्त्री दाहालले सरकारको कामकारबाहीबारे पनि जानकारी गराएका थिए ।