विर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अब जातिवादको नाराले नचल्ने बताएका छन् । झापाबासीसंग बर्षेनी दशैंका बेलामा शुभकामना कार्यक्रम आयोजना गर्ने गरेका ओलीले सोमबार विर्तामोडको अग्रसेन भवनमा आयोजित दशैंकै शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सबै जातिको देश भएकाले अब कमिलाको जस्तो आफ्नो गोलो मात्र खोज्ने बेला नरहेको बताए ।
उनले भने, ‘अब कमिला तन्त्रको जमाना छैन ।’
मान्छे विरामी परेका बेला रगत दिने मान्छे कुन जातको मान्छे हो भनेर नखोजिने उनले बताए । आफूलाई २०५२ सालमा रगत दिने मान्छे ‘नेपाली’ भएका कारण अब जातको कुरा उठाउन उचित नहुने उनले बताए ।
उनले भने, ‘अब सानो होइन ठूलो चित्त राख्नुपर्छ ।’ उनले अब पछाडि फर्कने बेला नभएको बताए । देशले समृद्धको बाटो लिनुपर्ने उनको भनाइ थियो । उनले सबै चाडबाड नेपालीको भएकाले सबैमा भाइचाराको भावना हुनुपर्ने बताए । उनले भने, ‘दशैंले सबैको राम्रो होस । सबैलाई समृद्ध बनाओस् ।’