धुलाबारी । पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले गत साल असोज ३ गते संविधान जारी नगरिएको भए अहिलेसम्म पनि नेपाली जनताले नयाँ संविधान नपाउने बताएका छन् ।
नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलनको झापाको धुलाबारीमा उदघाटन गर्दै एमाले नेता नेम्वाङले संविधानकै विषयमा अहिले पनि असन्तुष्ट पक्षसंग कुरा चलिरहेको भए पनि मिल्न नसकेकाले गत साल जारी नगरेको भए अहिले पनि नेपालले संविधान नपाउने बताए ।
एमाले नेता नेम्वाङले भने, ‘म लेखेर दिन्छु आजका मितिसम्म पनि संविधान जारी हुने थिएन । हामीले देखिरहेकै छौं अहिले पनि कुरा मिलिरहेको छैन ।’
नयाँ संविधान मधेशले अस्वीकार नगरेको उनले बताए । तर मधेशका केही व्यक्तिहरुले मात्र संविधानमाथि प्रश्न उठाएको उनको भनाइ थियो । तर त्यो असन्तुष्टि पनि संशोधनबाट सम्बोधन गरिनुपर्ने उनले बताए । नेम्वाङले भने, ‘छिमेकी देश भारतमा त एकसय २२ पटक संशोधन भएको छ भने हामीले संशोधन गरेर सबैको अधिकारलाई सुनिश्चित गर्न सक्छौं ।’
नेपालको संविधान महिला मैत्री संविधान भएको एमाले नेता नेम्वाङको भनाइ थियो । महिला मैत्री संविधान भएकै कारण नेपालले राष्ट्रपति, सभामुख तथा प्रधानन्यायधीश महिला पाएको उनको दाबी थियो ।
केही मधेशी दलका नेताहरुले भने जस्तो अंगिकृत नागरिकता भएकाहरुले देशका ठूला पदमा जान पाउनुपर्ने माग ठिक नभएको उनले बताए । नेता नेम्वाङले भने, ‘भारतमा पनि सोनियाँ गान्धिको अंगिकृत नागरिकता भएकाका कारण उनले प्रधानमन्त्री बन्न पाइनन् । यो संसारकै अभ्यास हो ।’
नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलनका विशेष अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले संविधानको पुस्तक घुमाएर मात्र देशमा विकास नहुने बताए । उनले भने, ‘संविधानको पुस्तक घुमाएर बिग्रेको बाटो बन्दैन । सिटामोल नपाएर विरामी मरिरहेका ठाउँमा औषधि पुग्दैन र बेरोजगार युवालाई रोजगार दिँदैन । त्यस्का लागि आधार तयार गर्नुपर्ने बेला आएको छ ।’
उनले एकजना महिला प्रधानन्यायधीश भइरहेको बेला अर्की महिला मुम्बईको कोठीमा रहने अवस्थाको अन्त्य हुनुपर्ने बताए । सिंहदरवारबाट दिल्ली मानसिक्तालाई जरैबाट उखेल्न जरुरी रहेको उनको भनाइ थियो । जेसीजको सम्मेलन दुई दिनसम्म चल्नेछ ।