काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबार पनि बस्दैछ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गरेका टोलीले आफ्नो धारणा राख्नेछन्। प्रतिवेदनमाथि सामूहिक छलफलका लागि बनाइएका ९ वटामध्ये हिजो पाँच वटा टोलीले आफ्नो धारणा राखिसकेका छन्।
शुक्रबारको बैठकमा १ नम्बर प्रदेशबाट जगन्नाथ खतिवडा, प्रदेश नम्बर ६ बाट यामलाल कँडेल, केन्द्रीय विभागबाट रचना खड्का र मोर्चा संगठनका तर्फबाट विश्वनाथ प्याकुरेलले आफ्नो धारणा राख्ने पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।
उनका अनुसार प्रतिवेदनमाथि धारणा राख्ने क्रम सकिएपछि शुक्रबार नै अध्यक्ष ओलीले प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । अध्यक्षले जवाफ दिइसकेपछि अध्यक्ष ओलीले पेश गरेको ३२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन संसोधन सहित पारित हुने उनले बताए ।
बैठकमा बोल्ने अधिकांश नेताहरुले पार्टीभित्र चरम गुटबन्दी हावी हुँदा पार्टी कमजोर भएको भन्दै व्यवहारमै गुटबन्दी अन्त्य गर्न माग गरेका छन्। बैठक दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा बस्नेछ।