विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको अबको जोड कोरोना संक्रमण पत्ता लगाउने परीक्षणमा केन्द्रीत भएको बताएका छन् ।
‘‘हामीहरु अहिले कोरोना भाइरस (कोभिड—१९) विरुद्धको लँडाईमा छौं । यो भाइरस रोकथाम, नियन्त्रण र जनताको जीवन रक्षाका लागि देश लकडाउन भएको पनि आज १८ दिन भएको छ,’’ मुख्यमन्त्री राईले शुक्रबार भने,‘‘यो भाइरस नियन्त्रणकै लागि अहिले पनि देश लकडाउनको अवस्थामा छ । अहिले हाम्रो प्रदेशबाटै कोरोना परीक्षण भइरहेको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट दिनमा १२ जनाको दरले स्वाब टेस्ट भइरहेको कुरा विदितै छ ।’’
शुक्रबारबाट कोशी अस्पतालबाट कम्तिमा दिनमा ९६ जनाको स्वाब परीक्षण हुने गरी ल्याब संचालनमा आएको छ । यो ल्याबको निरीक्षण शुक्रबार नै मुख्यमन्त्री राईले गरे ।
केही दिनभित्रै झण्डै ६ हजार जनाको कोरोना ल्याब टेष्ट गर्न सकिने र यसलाई तीव्र्र गति दिइने मुख्यमन्त्रीको भनाइ छ । उहाँले यस प्रकार कोरोनालाई पराजित गर्न सरकार प्रदेशवासीको सुरक्षाको ग्यारेन्टी गर्न परीक्षण महत्पूर्ण हुने मुख्यमन्त्री राईको अपेक्षा छ ।
शुक्रबारसम्म १ सय ८० जनाको ‘थ्रोट स्वाब’ संकलन गरिएको छ भने १ सय ५२ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । उपलब्ध अत्यावश्यक स्वास्थ्य सामग्रीहरु सबै ठाउँ पठाइएको मुख्यमन्त्रीले बताएका छन्।