काठमाडाैं । सत्तारुढ नेकपाका सांसदलेनै प्रदेश २ लाई विशेष प्रदेश घोषणा गर्न आवश्यक रहेको भन्दै संसदमा सार्वजनिक महत्वकाे प्रस्ताव दर्ता गराएका छन् ।
नेकपा सांसद प्रभु साहले प्रदेश २ लाई विशेष प्रदेश घाेषणा गर्न र आर्थिक प्याकेज वितरण गर्न संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् ।
“सामाजिक न्याय तथा समानतामा आधारित समानतामूलक समाज निर्माण तथा देशको सबै हिस्सामा बराबर विकासको लहर सिर्जना गर्न ” प्रस्तावमाथि छलफल गर्नुपर्ने कारणमा भनिएको छ।
यसबाहेक प्रस्तावमा आवश्यकता एवम् औचित्यको आधारमा कर्णाली लगायतका प्रदेशलाई समेत विशेष दर्जाको राज्य घोषणा गरी संघीय सरकारबाट अन्तर्राष्ट्रिय प्रचलन बमोजिम विशेष अनुदान प्याकेज लागू गर्नुपर्ने आवश्यकता देखिएकाे पनि उल्लेख गरिएकाे छ ।
विगतमा मधेस शिक्षा, व्यापार, उद्योगधन्दा, कृषि तथा स्वास्थ्यको आधारभूमि रहेको भन्दै अहिले ती सबै क्षेत्रमा प्रदेश २ कमजोर बन्दै गएको पनि प्रस्तावमा उल्लेख छ।
नेपालको संविधानले सबै प्रकारका विभेद र उत्पीडन अन्त्य गर्दै आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको अवस्था ती विषयलाई कार्यान्वयन गर्न प्रस्ताव पेश गरिएको उल्लेख छ।
साहको प्रस्तावमा समाजवादी पार्टीका सांसद उमाशंकर अरगरिया र कांग्रेस सांसद अमरेशकुमार सिंहले समर्थन गरेका छन्।

