भैरहवा । नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले आफ्नै रोजाईले कृषि मन्त्रालयको जिम्मेवारी लिएको बताएका छन्।
शनिबार लुम्बिनी प्रेस क्लब रुपन्देहीले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री भुसालले बाहिर हल्ला भए जस्ताे इच्छा बेगर नभइ राेजाइले नै मन्त्रालयकाे जिम्मेवारि पाएकाे बताएका हुन् ।
मन्त्री भुसालले गुजारामुखी श्रम र परम्परागत कृषिलाई उद्यममा ल्याउनु नै आफ्नो मुख्य चासो रहेको पनि बताए । उनले कृषि मन्त्रालय काम गर्न उपयुक्त मन्त्रालय भए पनि मन्त्रालयमा धेरै पूराना समस्याहरू रहेको जिकिर गरे । ‘प्रधानमन्त्रीले मलाई कृषि मन्त्रालय अफर गर्नुभयो। कृषि हाम्रो प्राथमिक क्षेत्र भएकाले म मन्त्री बन्न राजी भएँ। मेरो रोजाइको मन्त्रालय नै प्रधानमन्त्रीले अफर गर्नुभयो,’ भुसालले भने, ‘कृषिको समस्या समाधान गर्नका लागि म तप्पर छु।’
मन्त्री भुसालले सरकारको नीति, कार्यक्रम र बजेटले गरेको अपेक्षा र खोजेको परिणाम लागू गर्नु नै आफ्नो पहिलो प्राथमिकता भएको पनि बताए ।