झापा । कृषिजन्य बस्तु निर्यातको अधिकांश हिस्सा पूर्वमा उत्पादित बस्तु नै भएका कारण ती बस्तुको उत्पादन कसरी बढाउन सकिन्छ भने कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनाल अहिले पूर्वका जिल्लाको भ्रमणमा निस्किएका छन्।
सोमबार झापाका चिया उद्योगहरुको अवलोकन गर्दै सरोकारवालाहरुसंग उनले छलफल गरेका छन्।
मंगलबार बिहान झापाको बुद्धशान्ति गाउँपालिका २ का किसान राम उप्रेतीको कागती बगानको अवलोकन पनि गरेका छन्।

मेचीनगरका किसान डिल्ली उप्रेतीले उपलब्ध गराएको विरुवा रोपेपछि कागती उत्पादन शुरु भएको राम उप्रेतीले बताए। उनले भने, ‘डिल्लीजीले दिएको कागतीका विरुवा लगाएपछि मात्र कागती फलाउन सकें।’
किसान उप्रेतीद्वयले कागतीको उत्पादनदेखि बजार पुर्याउँदासम्म समस्यै समस्या रहेको मन्त्री खनाललाई जानकारी गराए।

कागतीका विरुवा छनोट, उत्पादनका लागि किसानले पूर्वाधार निर्माणमा देखिएका समस्या, कागतीको मूल्यलगायत विषयमा किसानले मन्त्री खनालको ध्यानाकर्षण गराएका थिए।
मन्त्री खनालले कागती खेतीको पकेट क्षेत्र बनाउनका लागि प्रदेश सरकारसंग समन्वय गरिने जानकारी दिए।
