झापा । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले झापा विर्तामोडमा रहेको कृषि उपज बजार केही मान्छेहरुको लुटेर खाने थलो भएको बताएका छन्।
मंगलबार झापाको बुद्धशान्ति गाउँपालिका कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा उनले सम्पत्ति भएर पनि उक्त बजार केही मान्छेहरुको खराब नियतका कारण बजारको बेहाल भएको बताए।
उनले भने, ‘चार विघा भन्दा बढी जग्गामा बनेको उक्त कृषि बजारको अवस्था हेर्दा त्यो लुटेर खाने थलो भएको जस्तो लाग्छ।’
झापामा कागती खेतीको अवलोकन गर्न आएका मन्त्री खनालले कागती खेतीको पकेट क्षेत्र बनाउनका लागि प्रदेश सरकारसंग समन्वय गरिने जानकारी दिए।
उनले नखाँदा नमरिने बस्तु किनेर खाएर आयात बढाउनु भन्दा आफैंले खाने बस्तु आफैं उत्पादन गरे कृषि बस्तु आयातलाई निरुत्साहित गर्न सकिने बताए।
उनले भने, ‘हाम्रो खर्च गर्ने शैली बढेको तर उत्पादनमा ध्यान नगएको हो। व्यवहार नसुधारे सरकारले जति नै गर्दा पनि हुँदैन।’