काठमाडौं । ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको सुरुवात अर्थात् असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ।
कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्ष भरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ।

‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ। मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन।
कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही-चिउरा खान्छन्। यसबेला दही-चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ।

असार १५ लाई नेपाली समाजमा दही-चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही-चिउरा खाई असार १५ मनाउँछन् ।
हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ। शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ। यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ।
