काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले आगामी वर्षको बजेटमा किताबमा लगाएको भन्सार महसुलप्रति व्याङ्ग्यात्मक असन्तुष्टि जनाएका छन् ।
आइतबार प्रतिनिधिसभाको शुन्यउ समयमा बोल्दै सांसद थापाले सरकारले किताबमा १० प्रतिशत भन्सार महसुल लगाउने कुरा ज्ञानमा नियन्त्रण गर्न खोजिएको बताए ।
नेपाली प्रकाशकले अन्य मुलुकबाट छापेर ल्याउने किताबमा यसअघिनै लाउँदै आएको १५ प्रतिशत भन्सारले कुनै बदलाव नल्याएकाे भन्दै त्यसले स्वेदशी मुद्रण उद्योगलाई फाइदा पुग्ने तर्कमा कुनै दम नभएकाे बताए ।
घरेलु मुद्रण व्यवसायको हितका लागि अनेकन उपाय रहेकाे भन्दै महसुल बढाउँदैमा राजस्व संकलनमा यसले टेवा पुर्याउनेमा झनै दम नभएकाे बताए । उनले यसमा सरकारले ज्ञानमानै नियन्त्रण गर्न खाेजेकाे देखेका छन् । उनले भने, ” यो कामको एउटै उद्देश्य देखिन्छ, किताबलाई महंगो बनाउँदै किताबमा नियन्त्रण गर्नु। कालान्तरमा ज्ञानमा नियन्त्रण गर्नु।”
विदेशबाट आउने नेपालीले भन्सार नतिर्नेगरी धेरै किताब लिएर आउने गरे भने सरकारको चाहना पूरा न हुन सक्ने भन्दै उनले सरकारलाई सुझावनै दिए ।
“सरकारलाई सुझाब दिन चाहन्छु। विदेशबाट आउने नेपालीले एक पटकमा कतिवटा पुस्तक ल्याउन पाउने कोटा तोकिदिनुस्। त्यसको अनुगमन गर्न विमानस्थल लगायतका ठाउँमा सुरक्षा जाँच कडा गर्नुस्। किताब बढी ल्याउनेलाई दण्ड जरिवाना गर्नुस्। त्यसमा पनि किताब नपढी नेपालीले नछाड्ने भए भने सरकारले नागरिकले एक वर्षमा कतिवटा किताब पढ्न पाउने हो, त्यसकै कोटा तोकिदिनुस्। “