काठमाडौं । प्रदेश १ को नाम र राजधानी तोक्नका लागि बिहीबार प्रदेश संसदमा प्रस्ताव पेश गर्ने भनिए पनि उक्त प्रस्ताव बैशाख २२ मात्र संसदमा पेश हुने भएको छ।
नाम र राजधानी तय गर्न विराटनगरमा दुई दिनदेखि बसेको बैठक निस्कर्षमा पुग्न नसकेपछि संसदमा प्रस्ताव पेश गर्ने मिति सारिएको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले जानकारी दिए।
उनका अनुसार सत्तारुढ नेकपाका शीर्ष तहका नेताहरु सम्मिलित बैठकले विपक्षी र सत्तापक्षका सांसदहरुको राय लिने क्रम जारी छ।
बिहीबार सर्वदलीय बैठक बसेर विपक्षीको सुझाव लिइएको भए पनि निस्कर्ष भने निस्कन सकेन। सुविधाका हिसाबले विराटनगर प्रदेश राजधानी उपयुक्त हुने भन्दै छरिएर मन्त्रालय राख्न नहुने नेपाली कांग्रेसको धारणा रहेको बुझिएको छ।
विभिन्न दलका आ-आफ्नै तर्क रहँदै आएको परिस्थितिमा सत्तारुढ नेकपाका सांसदमै नाम र राजधानीका विषयमा मत बाझिएका कारण उक्त मुद्दा पेचिलो बन्दै गएको छ।
सत्ताधारी पार्टीका सांसदबीच नै कुरा नमिलेको सन्दर्भमा अन्य दलका नेता तथा सांसदको राय एउटै हुनु निकै गाह्रो विषय बनेको विभिन्न पार्टीका नेता तथा कार्यकर्ताले बताउँदै आएका छन्।