हिन्दुहरुको चाड पर्वहरुमध्ये तीज भन्ने बितिक्कै हिन्दु महिलाहरुको पर्व भन्ने बुझिन्छ । विवाहित महिलाले आफ्नो पतिको दिर्घायुका लागि र अविवाहित कन्याले राम्रो वर पाइयोस भनी ब्रतको अघिल्लो रात दर खाएर भोलिपल्ट बिना जल व्रत बसी मन्दिर गई पुजा पाठ गर्ने र तीजका गित तथा भजनहरु गाएर रमाइलो गर्ने चलन रहेको छ।
समय अनुसार हरेक चिजको परिवर्तन संगसंगै तीजको व्रत गीत संगीत र कार्यक्रम सबै परिवर्तन भएका छन् । त्यति मात्र हैन तीजमा खाने दर र लाउने पहिरनमा समेत परिवर्तन आएको छ । साँच्चै भन्ने हो भने तीजलाई बिकृतिको रुपमा समाजमा ल्याइँदैछ, यो आफैमा निन्दनिय छ ।
पहिरनदेखि गाइने गीत तथा खाने दरसम्म समाजमा आपच्य हुँदै गएको छ । यसै प्रकारले बढदै जाने हो भने भावी पुस्ताले तीजलाई कुन रुपमा स्विकार्ला भन्ने कुरा त्यो अहिलेको उत्ताउलोपनाले झल्को दिईसकेको छ । हाम्रा आमाहरुले मनाउने तीज र दिदी बहिनीहरुले मनाउने तीजको फरक हामी प्रस्ट देख्न सक्छौं ।
केही बर्ष अगाडि कोमल ओलीले तिजमा ”पोइला जान पाम” भन्ने उत्ताउला गीत गाएर निकै विवादमा तानिएकी थिईन तर केही बर्षयता गायिका ज्योति मगरले तीजको गीतमा निकै अश्लिल हर्कत गरेकी छन् । संगै परिवारमा बसेर हेर्न नमिल्ने गरि लगाएका पहिरन र गीतमा प्रयोग गरेका शब्द सुन्न नसकिने खाल्का छन् ।
दरमा बियर र भोड्का खाने जस्ता शब्द प्रयोग गरेर सम्पूर्ण समाजलाई नै नकारात्मक सन्देश दिइरहेकी छिन् । दिनानुदिन बिकृति बढ्दैछ तर सरोकारवालाहरु मुक दर्शक भएर बस्नु एउटा लज्जास्पद कुरा हो ।
त्यस्तै नारी अधिकारबादी र समाजका महिलाको नाममा खोलिएका सयौं संगठनहरु पनि रमिते बनेका छन् । हुन त गीतमा भनिए झैं यसकै सिको गर्दै हाम्रा शहरका महिलाहरु एक महिना अगाडिदेखि दर खाने काममा ब्यस्त रहेका देखिन्छन् । दरको नाममा खाने र पिउने उनीहरुको लागि ज्योतिले भने झैं नै होला । यस्तै रुपमा अगाडि बड्दै जाने हो भने हाम्रो समाजमा मनाइने चाड पर्वहरुको वास्तविक्ता र मौलिकता भने एकादेशको कथा नहोला भन्न सकिन्न ।
-हाल अबुधाबी, युएई