चितवन । छिमेकी जिल्ला मकवानपुरमा कुखुरामा बर्डफ्लु देखिएपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ । पोल्ट्रीको राजधानी मानिने यस जिल्लामा भित्रने नाकाहरुमा पक्षी जन्य वस्तु आयातमा कडाइ गरिएको छ भने कृषकलाई जैविक सुरक्षामा ध्यान दिन अनुरोध गरिएको छ ।
भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका निमित्त प्रमुख डा पर्शुराम फुयालले यस जिल्ला हुँदै राजधानी र बाहिरी जिल्लामा कुखुरा जन्य पदार्थ धेरै आवतजावत गर्ने हुदाँ क्वारेन्टाइनमा कडाइका साथ चेकजाँच थालिएको बताए ।
उनले भने, “मकवानपुरमा बर्डफ्लु देखिएपछि जिल्ला छिर्ने नाकामा क्वारेन्टाइनलाई विशेष चेकजाँचका लागि निर्देशन दिइएको छ ।” अहिले जिल्लाका १५० कुखुराका नमूना परीक्षणका लागि काठमाडौँ पठाइएको उनले जानकारी दिए ।
बर्डफ्लु संक्रमण हुन सक्ने देखिएकाले व्यवसायीलाई जैविक सुरक्षामा ख्याल गर्दै काम गर्न आग्रह गरिएको उनले बताए । जिल्लामा बर्डफ्लु भित्रने सम्भावना प्रवल रहेको बताउँदै उनले चाँडै जिल्ला बर्डफ्लु नियन्त्रण प्राविधिक समितिको बैठक राखेर सबैलाई यसको विषयमा जानकारी गराइने बताए ।