कुनै प्राणी संसारमा जन्म लिएपछि एक दिन उसको मृत्यु निश्चित छ । कुनै व्यक्तिको मृत्युमा दुःखी नहुने मान्छे कमै होलान् । त्यस्मा पनि एकजना जनप्रतिनिधिलाई गुमाउनु पर्दाको पीडा झापाबासीले अझै पनि भुल्न सकेका छैनन् । भुल्ने कुरा पनि होइन ।
गौरीशंकर खड्काको देहावसानले म त दुःखी छु नै । म मात्र नभएर उहाँलाई चिन्ने जान्ने र निकट सम्बन्ध राख्ने जो कोहीलाई पनि उहाँको अनुपस्थिति खड्केको छ । एउटा कार्यभारको जिम्मा लिएर जनप्रतिनिधि चुनिएका खड्काको अभाव अहिलेको नेकपा तथा सिंगो देशले व्यहोरिरहेको छ । संविधान सभाको पहिलो निर्वाचनमा सभासद् निर्वाचित खड्काको अनुपस्थिति संविधान सभाले समेत व्यहोरेको अनुभूति अहिलेको नेकपा मात्र नभएर अन्य पार्टीका सभासद तथा नेता कार्यकर्ताले अनुभूति गरेको हुनुपर्छ ।
खड्कासंगको मेरो संगत त्यति लामो थिएन । तर जुन बेला उहाँलाई मैले चिन्ने अवसर पाएँ, म सुरुकै दिनमा उहाँको विचार र व्यक्तित्वबाट प्रभावित भएको थिएँ । म त भन्छु उहाँ तत्कालिन नेकपा माओवादीका मात्र नेता हुनुभएन । अन्य दलका नेता कार्यकर्ताले पनि त्यतिकै मान्थे जति आफ्ना पार्टीका कार्यकताले उहाँलाई मान्थे । राजनीतिमा कुनै दलको अहिलेसम्म सदस्यता नलिएको प्रजातान्त्रिक विचारमा आस्था राख्ने व्यक्ति हुँ म । तर मैले खड्काको विचारमा सबैखाले जनताको भावना समेटिएको पाएको थिएँ ।
पार्टीका नेता तथा कार्यकर्तामा दलगत स्वार्थ हुन्छ । पहिला आफ्ना मान्छेको काम अनि अन्य मान्छेहरुलाई प्राथमिक्ता दिने । गौरीशंकर खड्का जब संविधान सभाको पहिलो निर्वाचनमा झापा क्षेत्र नं २ बाट निर्वाचित हुनुभयो, उहाँलाई बधाई दिन माओवादी पार्टीका कार्यकर्ताको साथमा अन्य दलका कार्यकर्ताको समेत त्यतिकै भीड लागेको थियो । त्यही भीडमा मैले म कार्यरत रेडियोका लागि उहाँले विजय प्राप्त गरिसकेपछिको अन्तरवार्ता लिन उहाँको निवास पुगेको थिएँ । उहाँको पहिलो वाक्य थियो, ‘म सबैको हुँ ।’
जुन बेला खड्काको निधन भयो, त्यो बेला माओवादी नेता सीपी गजुरेल आँखाभरि आँसु पारेर उहाँको पार्थिव शरीर छेउमा बस्नुभएको थियो । अहिले म सम्झन्छु, सबै नेताहरुलाई एउटै थलोमा राख्ने क्षमता खड्कामा थियो । पार्टी फुट्थ्यो फुट्दैनथ्यो त्यो आफ्नो ठाउँमा छ । मलाई लाग्छ पार्टीलाई एकीकृत बनाएर लैजाने क्षमता उहाँमा पक्का थियो ।
एकपटकको भेटमा उहाँले भन्नुभएको थियो, ‘जबसम्म नेपाली समाजमा वर्गीय विभेद हावी हुन्छ तबसम्म तपाईं हामीले सोचेको समाज परिवर्तन सपना मात्र हुनेछ ।’ समाज रुपान्तरणमा उहाँले खेलेको भूमिकालाई मात्र मुखले मात्र होइन व्यवहारिक अनुशरण र कार्यान्वयन तर्फ अहिले दलका नेताले गरिदिए उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ । तर सिद्धान्त एकातिर व्यवहार अर्कोतिर भएकैले उहाँले छाडेर गएको प्रगतिशील विचार तथा सिद्धान्तले सार्थकता पाउन नसकेको कुरा जग जाहेर नै छ ।
सशस्त्र द्वन्द्वको बेला थियो । उहाँद्धारा हस्ताक्षरित विज्ञप्तिहरु म पाउँथें । क. राजेन्द्रको नामबाट विज्ञप्ति आउँदा ति विज्ञप्तिमा लेखिएका शालीन तथा मर्यादित भाषा सुरुदेखि अन्तसम्म पढने रहर जागेर आउँथ्यो । पछि भेट हुँदा उहाँलाई त्यही भाषाको शालिन व्यक्तित्वको रुपमा मैले पाएको थिएँ । जुन शाीलनता उहाँमा मैले जुनैबेलाको बातचितको दौरानमा पाएको थिएँ ।
भन्छन् कम्युनिष्टहरुले देउता मान्दैनन् । उहाँको सबैलाई एकै नजरले हेर्ने व्यवहार कुनै देउताको भन्दा कम थिएन । उहाँको राष्ट्रिय स्वाभिमानको अडानबाट कतै उहाँको माउ पार्टीले बिर्सेको त होइन? जसले पनि प्रश्न तेस्र्याउने गरेका छन् ।
वर्तमान देशले भोगिरहेको अस्थिर राजनीति, बल्ल बल्ल पाएको स्थायी सरकारको कार्यशैली र समान समाजको निर्माणमा नेकपा तथा अन्य राजनीति दलका नेताले उहाँको कार्यनीति लिए मात्र दिवंगत नेता गोरीशंकर खड्काप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ । उहाँलाई अहिले पनि देशले खोज्दैछ ।
गौरीशंकर खड्का स्मृति ग्रन्थमा प्रकाशित लेख