विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको पूर्वाधार निर्माण गर्न केही दिनमा निजी क्षेत्रको सहकार्यमा लगानी सम्मेलनको आयोजना गरिने बताएका छन् ।
नगर विकास कोषको ऋण सहयोगमा विराटनगर महानगरपालिकाले वडा नं ११ मा निर्माण गरेको बस टर्मिनलको बुधबार उद्घाटन गर्दै उनले विकास र समृद्धिको उद्देश्यप्रति केन्द्रित भएर सरकारले विकास निर्माणको वातावरण तयार गरिरहेको बताए ।
मुख्यमन्त्री राईले हिमाल, तराई र पहाडका जनताको विकासप्रतिको चाहना परिपूर्ति गर्न भूगोलअनुसारका विकास कार्य गर्न प्रदेश सरकार योजनाबद्ध भएर लागेको चर्चा गर्दै यस क्षेत्रको पर्यटन पूर्वाधार निर्माण गरी स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्ने बताए ।
मुख्यमन्त्री राईले विराटनगरवासीको चाहनाअनुरूपको बृहत् मनोरञ्जनस्थलका पार्कको निर्माण गर्नुपर्नेमा जोड दिँदै ‘सडक, विद्युत्, सहरीकरण, स्वास्थ्य, शिक्षा’ जस्ता जनताका आवश्यक विकास योजनालाई गुरुयोजना बनाई सरकारले निर्माण गर्ने बताए ।
यही माघ २० गतेबाट शुरु हुने प्रदेशसभा बैठकबाट स्थायी राजधानी र नामकरणको टुङ्गो लाग्ने पनि उनले बताए ।
आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले टर्मिनल क्षेत्रमा सेवा केन्द्र स्थापनाका लागि सरकारले सहयोग गर्ने बताउँदै यसको संरक्षण, सफाइ र सुरक्षाका लागि सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।