विर्तामोड । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्रको ठूलो हिस्सा ओगट्ने कृषि क्षेत्रको व्यवसायीकरण र आधुनिकीकरण गर्न अति आवश्यक भएको बताएकी छिन्।
झापाको गौरादह स्थित साना किसान कृषि सहकारी संस्था द्वारा सञ्चालित नमूना सहकारी खेतीको अवलोकन गर्ने क्रममा कृषि क्षेत्रलाई आधुनिकीरण गर्न सकेमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सकिने उनले बताइन्।
बिश्व बजारमा कृषिबाट उत्पादित वस्तुहरु बिक्री वितरणमा ठूलो मात्रामा प्रतिस्पर्धा भएकाले यस क्षेत्रमा किसानहरुलाई आकर्षित बनाउन समस्या रहेको बताइन्।
राष्ट्रपति भण्डारीले गौरादह नगरपालिका–५ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थामा आबद्ध साना किसानको एकसय बिघा जग्गामा सञ्चालित नमूना सहकारी खेतीको अवलोकन गरेकी छिन् ।
यसैगरी झापाको शिवसताक्षीमा रहेको चन्द्रडाँगी कृषि फर्मको अवलोकनपछि यस्ता फर्म स्थानीय सरकारलाई हस्तान्तरण गर्नुपर्ने भण्डारीले बताइन्। उनले कृषिक्षेत्रलाई पेशाका रुपमा बिकास गर्नका लागि स्थानीय नागरिकको प्रत्यक्ष सरोकार जोडिएको फर्म स्थानीय तहलाई नै हस्तान्तरण गर्नुपर्ने बताइन्।
८४ बिगाहा क्षेत्रफलमा फैलिएको सो फर्म अहिले केन्द्र सरकारको मातहतमा रहेको छ। केन्द्रबाट प्रदेश र स्थानीय तहले आफु मातहत ल्याउन रक्साकस्सी गरिरहेको समयमा राष्ट्रपति भण्डारीको यस्तो धारणा आएको हो।