हरेक दलका अहिलेका अधिकांस युवा सांसदहरु जो आफुलाई कुनै न कुनै रुपमा भ्रष्टाचार बिरुद्धको अभियन्ता भएको देखाउन खोज्छन्, त्यस्ता युवा संसदहरु समेत भ्रष्टाचारका यस्ता घटना तथा भ्रष्टाचार बिरुद्ध सख्त कानुन बन्नु पर्छ भन्ने बिषयमा सांसदमा खरो रुपमा प्रस्तुत हुन नसक्नुले उनिहरुको नियत माथि नै अब आम नागरिकाले शंका गर्नु पर्ने अवस्था आएको छ।
फरक राजनीतिक आस्था भए पनि कमसेकम भ्रष्टाचारका बिरुद्धमा समान सोच राख्ने सांसदहरु भ्रष्टाचारका बिरुद्ध किन एक भएर बोल्न सक्दैनन्? यसो गर्नका लागि यिनिहरुलाई के ले रोकेको छ? कतै यस्ता सांसदहरुलाई आफ्नै पार्टी भित्र बाट अथवा अन्य कुनै अदृश्य शक्ति मार्फत भ्रष्टाचारका बिरुद्ध संसदमा खरो रुपमा नबोलिदिनका लागि कुनै दबाव त छैन?
अहिले हाम्रो सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा लिएर भ्रष्टाचार बिरुद्ध सुन्य सहनशिलताको नीतिका साथ अघी बढेको छ भन्ने हामीले सुन्दै आएका छौँ। यसै सन्दर्भमा, यो लेख मार्फत हाम्रो आसपासमा आचार बिपरित हुने गरेका केही भ्रष्टाचारका उदाहरणहरु सरकार तथा सम्बन्धित निकायको ध्यान केन्द्रित हुनसकोस् भन्ने उदेश्यले यहाँ शेयर गर्दै छु।
सरकारी अस्पतालका डाक्टरहरु, डिउटीको समयमा अस्पतालमा भन्दा पनि उनिहरुको प्राइभेट क्लिनिकमा धेरै भेटिन्छन्, यो भ्रष्टाचार हैन? विभिन्न सरकारी कार्यालयहरू खास गरेर यातायात, मालपोत, नापी, श्रम, आदि मा बिचौलियाहरुलाई पैसा नखुवाए सम्म कुनै काम बन्दैन, यो भ्रष्टाचार हैन?
वैदेशिक रोजगारीमा जाने कामदारबाट एक हजार रुपैयाँका दरले उठाएर जम्मा गरिएको कल्याणकारी कोषको रकम सरकारका सचिब, नेता मन्त्रीहरु बाट पटक पटक दुरुपायोग भएको छ, यो भ्रष्टाचार हैन? धेरै जसो जनप्रतिनिधिहरुको ध्यान सेवा भन्दा पनि सुविधामा केन्द्रित रहेको छ। करबाट उठेको रकम जनताका आधारभूत आवश्यकतामा पुरा गर्न खर्च हुनु भन्दा पनि कतिपय जनप्रतिनिधी तथा कर्मचारीहरुले आफ्ना सुख सुविधाका लागि आफ्नो हात जगन्नाथ गरेका छन्, यो भ्रष्टाचार हैन? सरकार एकपटक आफ्ना सर्बहारा जनताका जनप्रतिनिधिहरु तर्फ दृष्टि घुमाएर हेरौ, उनिहरु धेरैमा विलासी जीवन प्रतिको उत्कट मोह स्पष्ट नजर आउने छ। भ्रष्टाचारको जड भनेको नै यहीं हैन र?
माथि उल्लेखित बिषयहरु त केही उदाहरण मात्र हुन्। मुलुक भित्र यस्ता कयौँ बिषयहरु छन् जसका बिरुद्धमा सरकार अत्यन्तै सख्त र स्पष्ट भएर अघि बढ्नु पर्ने आवश्यकता छ। ‘राम्रो काम गर्नेलाई पुरस्कार, नगर्नेलाइ दण्ड’ को नीति अप्नाउन अब सरकारले थप विलम्ब गर्नु हुँदैन।
हाम्रो देशमा भ्रष्टाचारहरुको अन्त्य नभए सम्म अबको चार–पाँच बर्ष त के दसकौं सम्म पनि रोजगारका लागि मलेसिया तथा खाडी लगायतका अन्य मुलुकहरुमा हाम्रा दाजुभाइ दीदिबहिनीहरुले पलायन हुनु पर्दै गरेको आजको अवस्थामा परिवर्तन आउन असम्भव छ।
अन्त्यमा, कुनै ब्याक्ति जनकल्याण हेतु निस्वार्थ रुपमा एउटा उद्देश्य राख्छ र त्यसलाई पुरा गर्न/गराउनका लागि कटिबद्ध भएर लागि पर्छ भने सफलता प्राप्त गर्न असंभव छैन भन्ने कुराको उदाहरणको रुपमा चिकित्सा शिक्षा सुधारका लागि डा केसी बाट भएको पहललाई हामी लिन सक्छौँ।
एकजना सामान्य डाक्टरले त आफ्नो ईमानदारीता र इच्छा शक्तिको बलमा सरकारलाइ आफ्ना जायज मागहरु पुरा गराउन बाध्य पार्न सक्दो रहेछ भने हजारों/लाखौं जनताको भोट प्राप्त गरेर बनेका सांसदले एउटा असल नियत र संकल्पका साथ केही परिवर्तन गरेर देखाउछु भनेर लागि पर्ने हो भने भ्रष्टचारी बिरुद्ध सख्त कानुन ल्याउन पक्का पनि असम्भव नहोला। तपाईंहरु आफ्नो ठाउँ बाट एकपटक पहल गरेर त हेर्नुहोस्, सारा जनताको साथ यहाँहरुलाई प्राप्त हुने छ।