सामान्यतया आर्थिक हिनामिना हुनु/गर्नु अथवा घुस लिनु/दिनु जस्ता अवैध कार्यलाई मात्र भ्रष्टाचार भएको भन्ने आम जनमानसको बुझाई रहने गरेको पाईन्छ। तर जानकारहरुका अनुसार भ्रष्टाचार भनेको यति मात्र हैन, यो बिषयमा आम जनमानसको बुझाई फराकिलो हुनु पर्छ भन्ने छ। मतलब, भ्रष्ट आचार याने आचार बिपरित हुने अथवा आचार सम्मत नभएका हरेक कार्यहरु भ्रष्टाचार भित्र पर्दछन्। जस्तो कुनै सरकारी कर्मचारी या डाक्टर, ऊ आफ्नो तोकिएको समय भित्र अफीस/अस्पातल पुग्दैन भने यसलाई आचार सम्मत मानिदैन, यो भ्रष्टाचार हो।
कुनै माता-पिता आफ्ना नानीबाबुहरुलाई स्कुल चै पठाइ दिने तर स्कुलमा आफ्ना बच्चाहरु नियमित रुपमा हाजिर हुने गरेका छन् कि छैनन्, टिफन बाकसमा राखेर पठाइदिएको खाजा खाने गरेका छन् कि छैनन्, स्कुलमा दिएको गृहकार्य नियमित रुपमा गर्ने गरेका छन् कि छैनन्, सरसफाइमा ध्यान दिएका छन् कि छैनन् लगायतका कुराहरुमा समय समयमा जाँचबुझ गर्ने तथा ध्यान पुर्याउने गरेको छैन भने यसलाई आचार सम्मत मानिदैन। त्यसैले यसलाई पनि माता-पिता बाट हुने गरेको भ्रष्टाचार मानिन्छ।
खैर, माथि उल्लेखित बिषयहरु त सामान्य उदाहरण मात्र हुन। भ्रष्टाचार (भ्रष्ट आचरण) का अनेकौँ रुप र डिग्री हूनसक्छन्। खास गरेर राजनीतिक र प्रसाशनिक रुपमा माथि देखी तल सम्म हुनेगरेका भ्रष्टाचारले हाम्रो समाज र राज्यलाई सबै भन्दा धेरै असर पार्ने गरेको छ। हाम्रो आफ्नो घर साथै हाम्रो गाँउ, नगर, जिल्ला लगायत हाम्रो सिंगो देशको प्रगती र समृद्धिको सबै भन्दा ठ्लो बाधक भनेको नै यहीं भ्रष्टाचार हो।
अहिले हाम्रो देशमा माथि देखी तल सम्म हरेक पाइला पाइलामा भ्रष्टाचार मौलाउदै आएको छ। शिक्षा, स्वास्थ्य, न्यायलय, पुलिस-प्रशासन लगायत हाम्रो राज्यका हरेक अंग अंगमा भ्रष्टाचारले जरो गाडेको अवस्था छ। यसो हुनुको मुख्य कारण भनेको हाम्रो देशमा अहिले सम्म हुँदै आएको भ्रष्ट राजनीति नै हो भन्नेमा कसैको दुई मत नहोला।
मुलुक भित्र हुनेगरेका यस्ता भ्रष्टाचारहरुलाई निर्मुल पार्न नसके सम्म हाम्रो देश सुखी र समृद्धिको दिशामा अगि बढ्न सक्दैन र यसका लागि हाम्रो देशमा एउटा स्थिर सरकारको आवश्यकता छ भन्ने हामी आम जनताको बुझाई र मान्यता रहेको थियो/छ। आम जनताको यहीं बुझाई र मान्यता फलस्वरुप आज हाम्रो देशमा इतिहासमै अहिले सम्मको सबै भन्दा बलियो दुई तिहाई महुमत सहितको स्थिर सरकार बनेको छ।
हुनत हाम्रो देशमा यो भन्दा अगाडि बनेका हरेक सरकार तथा त्यस सरकार अन्तरगत बन्ने प्रधानमन्त्री मन्त्रीहरुले भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीति अपनाउदै भ्रष्टाचार पुरै निर्मुल पार्ने बचनबद्धता ब्यक्त नगरेका भने हैनन्। तर वास्तविकतामा भने भ्रष्टाचारले देश भित्र दिन प्रतिदिन अझ बलियो संग जरा गाड्दै आएको अवस्था छ।
अब अहिले हाम्रो प्रधानमन्त्री स्वयमले भन्दै आउनु भएको छ ‘म पनि भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न’ अर्थात भ्रष्टाचार गर्ने लाई छोड्दिन। प्रधानमन्त्री ज्युले यसो भनी रहदा हामीले सोचेको थियौँ, अब भने हाम्रो सरकार भष्टाचार बिरुद्ध एकदमै सख्त रुपमा प्रस्तुत हुने छ।
अब जारी हुने भनिएको नयाँ कानुन अन्तर्गत भ्रष्टाचार बिरुद्ध सख्त नियम आउने छ। परिणामस्वरुप देशका भ्रष्ट नियत भएका सरकारी कर्मचारी, नेता, कार्यकर्ता, उद्योगी व्यवसायी आदि जोसुकै हुन् उनिहरुले भ्रष्टाचार गर्ने त के यो कुरा कल्पना सम्म पनि गर्न सक्ने छैनन्।
यस्तैमा, अस्ति भदौ १ गते बाट हाम्रो देशमा नयाँ मुलुकी ऐन पनि लागु भयो। यसको लगत्तै यो बिषयमा मिडियामा आएका समाचारहरु एकदमै उत्सुकताका साथ पढियो सुनियो तर बडो दु:खका साथ भन्नु पर्ने हुन्छ घुस खाने/दिने लगायतका अन्य घोटाला गर्नेहरुका विरुद्धमा जारी गरिएको नयाँ कानुन भित्र कुनै नयाँ ब्यवस्था भएको पढ्न वा सुन्न भने पाइएन।
अहिले प्राय सबै राजनीतिक दलका अधिकांस सांसदहरु खास गरेर युवा सांसदहरु भाषण गरेका बेला आफुलाई कुनै न कुनै रुपमा भ्रष्टाचार बिरुद्धको अभियन्ता भएको देखाउन खोज्छन्। सरकारमा भएका हाम्रा मन्त्रीहरु भ्रष्टाचारलाई पुरै निर्मुल पार्न आफुहरु कटिबद्ध रहेको भन्दै आउनु भएको छ। यसैले होला भ्रष्टाचारीहरुका बिरुद्धमा सख्त कानुनु बन्ने/आउनेमा हामी एकतरिकाले ढुक्क थियौँ। तर वास्तविकतामा त्यस्तो केही भएन, हाम्रा अपेक्षाहरु फेरी पनि अपेक्षामै सीमित रहेका छन्।
अहिले हाम्रो देशको मुख्य समस्या भनौं या समृद्धिको बाधक जे भने पनि, त्यो भनेको भ्रष्टाचार नै हो। अब यो निर्मुल हुनुपर्छ तब मात्र हाम्रो मुलुक समृद्धिको दिशामा अघी बढ्न सक्छ भन्नेमा सबैको समान बुझाई रहेको छ। मलाई याद छ, प्रतिनिधिसभा सदस्यको सफत खाने क्रममा मेरो जिल्ला झापा क्षेत्र नं.३ बाट सांसद बनेका राप्रपाका राजेन्द्र लिङ्देनले ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर काम गर्नेछु!’ भन्ने थप नोट लेखेर नै सफत लिएका थिए साथै उनले अन्य दलका सांसदहरुलाई पनि यसरी थप सफत लिन आह्वान गरेको बिषयले त्यतिखेर निक्कै चर्चा पनि पाएको थियो। यति हुँदा हुँदै पनि हाम्रो संसदमा जुन स्तरमा भ्रष्टाचरका बिरुद्धमा आवाज उठ्नु पर्ने थियो त्यो स्तरमा आवाज नउठ्नु साथै सरकारले पनि अहिले सम्म भ्रष्टाचारका बिरुद्धमा कुनै ठोस कदम उठाउन नसक्नु हामी सबैका लागि निक्कै चिन्ताको बिषय हो।
थोरै समय पछाडि फर्केर हेर्ने हो भने, आयल निगमको जग्गा खरिद प्रकारण होस् या कर फर्स्योट आयोगमार्फतको राजस्व घोटाला अथवा हलसालैको चर्चित सुन काण्ड। यस्ता बिषयमा हाम्रो संसदमा सशक्त ढंगले आवाज उठ्न नसक्नुलाई हामी आम जनताले कसरी सम्झने? मेलम्ची खानेपानी आयोजना जुन सात बर्ष भित्रमा पुरा हुनु पर्ने अहिले १७ बर्ष भयो अझै पुरा नसक्नु भ्रष्टाचार हैन? अख्तियार दुरुपयोग, सम्पत्ति शुद्धिकरण जस्ता संस्थाहरुका काम कारबाई खाली खोक्रो औपचारिकता पुरा गर्न का लागि मात्र सीमित बनेर रहेका छन्, यिनले साँच्चै नै स्वतन्त्र भएर देश र जनताको हितमा कहिलेबाट काम गर्ने?