काठमाण्डौ । राष्ट्रपति कार्यालय शित्तल निवासमा भएको बिशेष समारोहमा नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति निबासमा भएको विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारीले प्रचण्डलाई सपथ खुवाएकी हुन् । निर्वाचित प्रधानमन्त्री प्रचण्डले ईश्वरको नामको सट्टामा देश र जनताका नाममा सपथ ग्रहण गरे । सुट कोटमा गएका प्रचण्डले टाई भने लगाएका थिएनन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिहरुमा सत्तासाझेदार कांग्रेसबाट विमलेन्द्र निधीको नेतृत्वमा रमेश लेखक मन्त्रीको सपथ खाउनुभएको छ । माओवादी केन्द्रका तर्फबाट सरकारमा कृष्णबहादुर महरा, दलजित वि.के श्रीपाली र गौरीशंकर चौधरीले मन्त्री पदमा सपथ खाएका छन् । माओवादीको तर्फबाट महरालाई अर्थ मन्त्रालय, श्रीपालीलाई युवा तथा खेलकुद मन्त्रालय र चौधरीलाई कृषि मन्त्रालय रहेका छन् । कांग्रेसका तर्फबाट निधी उपप्रधान तथा गृहमन्त्री र लेखक भौतिक योजना मन्त्रीका रूपमा सपथ लिएका छन् ।
सपथग्रहण कार्यक्रममा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरु, सभामुख, प्रधानन्यायाधीश, संवैधानिक अंगका प्रमुखहरु, सुरक्षा अंगका प्रमुखहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु लगायत सहभागी थिए ।साथै बिभिन्न राजनीतिक दलका नेता-कार्यकर्ताहरु पनि सपथ ग्रहण कार्यक्रममा सहभागी थिए । दिउँसो तीन बजे सपथ ग्रहणको कार्यक्रम राखिए पनि मन्त्रीहरुको टुंगो नलागेका कारण आधा घण्टा ढीलो कार्यक्रम सुरु भएको थियो । प्रचण्ड बुधबार संसदबाट ३६३ मत पाएर प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । उनको विपक्षमा २१० मत परेको थियो ।
प्रचण्ड यसअघि २०६५ सालमा पनि प्रधानमन्त्री बनेका थिए । उनी दुईपटकसम्म प्रधानमन्त्री बन्ने नेपालको पहिलो कम्युनिष्ट नेता बनेका छन् । प्रचण्डले आजै सिंहदरवार गएर कार्यभार सम्हाल्नेछन् । त्यसअघि लैनचौरस्थित शहिद पार्क, चम्पादेवीस्थित पुष्पलाल पार्क र पार्टी कार्यालय पेरिसडाँडा पुग्नेछन् ।