बुटवल । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारी भइरहेको बताउनुभएको छ ।
आज तिलोत्तमा नगरपालिपाकाको मणिग्राममा गाउँब्लक जग्गाको जग्गाधनी प्रमाण पूर्जा वितरण समारोहमा उहाँले भन्नुभयो, “कृषि भूमिको संरक्षण हुनेगरी कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारी सरकारको छ ।”
मन्त्री खनालले जग्गा व्यवस्थापन सम्बन्धी आवश्यक नीति बनाएर कित्ताकाटमा देखिएको गाँठो फुकाउने बताउँदै “यस सम्बन्धमा प्रधानमन्त्रीसँग पनि छलफल गरेको छु, एक महिनाभित्र यो विषयलाई हामीले टुंग्याउने छौं भन्नुभयो । ”
गत साउन २६ मा तत्कालीन भूमिसुधारमन्त्री गोपाल दहितको मन्त्रिस्तरीय निर्णयबाट वर्षमा एक पटक वा अदालतको फैसला र अंशबन्डामा मात्र कित्ताकाट गर्न पाउने व्यवस्था कायम छ ।
मन्त्री खनालले नीतिमा कित्ताकाट रोकिए पनि व्यवहारमा रोकिएको छैन्, बरु यसले अनेक विकृति बढाएकोछ, त्यसैले सरकारले नयाँ व्यवस्था गर्न थालेको बताउनुभयो । स्थानीय तहले भूउपयोग योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उहाँले रुपन्देहीमा खेतीयोग्य जमीनको संरक्षण गरिनुपर्ने बताउनुभयो । रासस