विर्तामोड । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन शुक्रबार धान दिवस संगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । खेतमा धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ । असार १५ झापाका किसानहरुले धुमधामका साथ मनाएका छन्।

कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि दही चिउरा खाई असार १५ मनाउँछन् ।

नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । यो वर्ष पनि सरकारले धान उत्पादनमा वृद्धि राष्ट्रको समृद्धि नारासहित विभिन्न स्थानमा राष्ट्रिय धान दिवस मनाउँदैछ ।

यस्तै कृषि सचिव डा.युवकध्वज जिसी दक्षिणकालीमा सहभागी हुँदै छन् । नेपाल कृषि अनुसन्धान परिषद्(नार्क) र प्रमुख राजनीतिक दलसम्बद्ध किसान संगठनहरूले पनि छुट्टै धान दिवस मनाउने तयारी गरेको छ ।

झापामा धान दिवसका दिन विभिन्न स्कूलका विद्यार्थीहरु पनि धान रोप्न खेतमा निस्के । झापा चारपाने भएको धान रोपाईंमा फनमिन बोर्डिङ स्कूलका विद्यार्थी धान रोप्न निस्केका थिए।

