काठमाण्डौं । आज असार १५ । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवस संगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । आजको दिन खेतमा धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ ।
कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।
नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ ।
यो वर्ष पनि सरकारले धान उत्पादनमा वृद्धि राष्ट्रको समृद्धि नारासहित विभिन्न स्थानमा राष्ट्रिय धान दिवस मनाउँदैछ । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालले कपिलवस्तु, राज्यमन्त्री रामकुमारी चौधरी सुनसरीमा आयोजित कार्यक्रममा सहभागी हुँदै छन् ।
यस्तै कृषि सचिव डा.युवकध्वज जिसी दक्षिणकालीमा सहभागी हुँदै छन् । नेपाल कृषि अनुसन्धान परिषद्(नार्क) र प्रमुख राजनीतिक दलसम्बद्ध किसान संगठनहरूले पनि छुट्टै धान दिवस मनाउने तयारी गरेको छ ।