विर्तामोड । दुध उत्पादन हुने प्रमुख महिनामा कतिपय डेरी उद्योगहरुले मिल्ड होलिडे घोषणा गरेकाले आफूहरुलाई मर्का परेको दुग्ध उत्पादक किसानहरुले बताएका छन्। देशभरबाट उत्पादित दुध किन्ने क्षमता सरकारको स्वामित्व रहेको दुग्ध विकास संस्थानसंग पनि नरहेको संस्थानका अधिकारीहरु बताउँछन्। दुध बेचेर केही आम्दानी गर्ने प्रयास गर्दा मिल्ड होलिडे घोषणा गरिएकाले उत्पादित दुध सडकमा पोख्नु परेको किसानहरुको भनाइ छ।
झापाको एनएमसी डेरी उद्योगले दुध नकिनेको भन्दै शनिवार सडकमा दुध पोखेका किसानहरुमध्ये शरणामति झापाका किसान मोहन भट्टराईले भने, ‘एनएमसी डेरीले दुध दैनिक नकिनिदिएकोले हामीलाई समस्या परेको छ।’
बैशाख, जेठ तथा असार महिनामा गाई तथा भैंसीले प्रशस्त घाँस खान पाउने भएकाले दुध प्रशस्त उत्पादन हुने गरेको छ। किसानहरु भन्छन् यिनै महिनाको आम्दानीले उनीहरुलाई केही राहत मिल्छ। तर अहिले एक्कासी डेरी उद्योगहरुले दुध नकिन्ने दिन मिल्क होलिडे घोषणा गरेकाले किसानहरुले नोक्सानी व्यहोर्नु परिरहेको छ।
सूर्योदय नगरपालिका इलामकी एकजना कृषक राधा कट्वालका अनुसार ‘मिल्क होलिडे’ले किसानलाई आम्दानी हुने महिनामा निकै गाह्रो भएको छ।
डेरी उद्योग सञ्चालकहरुका अनुसार अहिले उत्पादन भएको दुधको सबै मात्रा खरिद गर्ने क्षमता कतिपय उद्योगमा छैन। जस्का कारण मिल्क होलिडे घोषणा गर्नु परेको एनएमसी डेरी उद्योगका सञ्चालक रामचन्द्र उप्रेतीले बताए।
सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थानका अनुसार देशभर बार्षिक १९ लाख मेट्रिक टन दुध उत्पादन हुन्छ। तर किसानका गाई भैंसीको दुध सबै किन्ने क्षमता डिडिसीसंग पनि छैन।
संस्थानका कायम मुकायम महाप्रवन्धक इश्वरी न्यौपानेले भने, ‘डिडिसीले ४० प्रतिशत मात्र दुध लिनसक्छ। किसानको सबै दुध किन्ने हामीसंग पूर्वाधार नै छैन।’
किसानका गाई भैंसीको सबै दुध किन्न सक्ने अवस्था बनाउन विदेशबाट आयातित दुधजन्य पदार्थमा कडाई गर्नुपर्ने उत्तम विकल्प भएको डिडिसीका कामु महाप्रवन्धक न्यौपानेको भनाइ छ।
न्यौपानेका अनुसार बर्षमा एकजना व्यक्तिका लागि ९१ लिटर दुध आवश्यक पर्छ। तर नेपालमा उपलब्ध दुधको मात्रा अनुसार एकजना व्यक्तिलाई ७१ लिटर दुध मात्र उपलब्ध हुने गरेको छ।