बनियानी । उचित बजारको व्यवस्था नहुँदा धान उत्पादनको विशेष क्षेत्र सुपरजोनका किसानहरुले उत्पादन गरेको चैते धानले बजार पाउन सकेको छैन। गत बर्ष डेढ सय विगाह जमिनमा उत्पादन भएको धानको क्षेत्रफल यस बर्ष सात सय विगाह पुगेको छ। किसानले एक विगाह जमिनमा एक सय विस मनसम्म धान फलाएका छन्। तर त्यही धान उनीहरुलाई कहाँ लगेर बेच्ने भन्ने चिन्ता हुँदा कृषि मन्त्रालयले खासै चासो दिएको पाइँदैन।
धान उत्पादनको विशेष क्षेत्र सुपरजोन कार्यक्रम सञ्चालक समितिका संयोजक नवराज भट्टराईका अनुसार धानको उत्पादन बढी भएपछि भएका धान मिलहरुले पनि किसानका धान किनिदिएनन्।
उनले भने, ‘किसानलाई गाह्रो भएको छ। मिलवालाहरुले पनि सुकाउने ठाउँ छैन भनेर धान किनिदिएका छैनन्। किसान साना व्यापारीलाई अनुनय विनय गरिरहेका छन्।’
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत झापाको दक्षिण क्षेत्रलाई धान उत्पादनको विशेष क्षेत्र सुपरजोन घोषणा भएपछि गत बर्ष त्यहाँ करिब डेढ सय विगाह जमिनमा चैते धान लगाइएको थियो।
यस बर्ष सौर्य सिँचाइ सुविधा पाएपछि सुपरजोन क्षेत्रमा चैते धान उत्पादन क्षेत्र बढेर सात सय विगाह पुग्यो। किसानले एक विगाह जग्गामा एकसय विस मनसम्म धान फलाएका छन्। तर त्यही धान अब कहाँ लगेर बेच्ने भन्ने चिन्ता सयौं धान किसानहरुको छ।

गत बर्ष पनि चैते धानको उत्पादन उत्साहजनक नै थियो। तर क्षेत्रफल कम भएकाले उत्पादन खासै थिएन। किसानका धान स्थानीय क्षेत्रकै धान मिलहरुले सन्तोषजनक मूल्यमा खरिद गरेका थिए। यस बर्ष उत्पादन धेर भएको र मिलको क्षमता कम भएकाले किसानहरुलाई समस्या परेको सुपरजोन कार्यक्रम प्रमुख मेघनाथ तिमल्सेनाको भनाइ छ।
उनले भने, ‘उत्पादन बढे पनि बजारिकरणको समस्याले किसानलाई समस्या भएको छ।’
किसानलाई धान उत्पादनमा प्रेरित गरेर मनग्गे धान फलाए। तर त्यही धानको बजारिकरण कसरी गर्ने भन्ने कुरामा कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयले त्यति चासो दिएको पाइँदैन।
मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीले अन्य निकायसंग समन्वय गरेर समाधानको उपाय निकाल्ने बताए।
झापाका दक्षिण भेगका पाठामारी, बालुबाडी, पृथ्वीनगर, बनियानी, पथरिया तथा केचना क्षेत्रलाई धान उत्पादनको विशेष क्षेत्र सुपरजोन घोषणा गरेको डेढ बर्ष पुगेको छ।