मलाई थाहा छ पेट्रोलियम पदार्थको निरन्तर भाउ बढेको बारे मेरो धारणा धेरैलाई मन नपर्न सक्छ तर पनि आफ्नो ब्रह्मले देखेको कुरा लेख्दैछु। हजुरहरुलाई पनि आफ्नो धारणा लेख्नु हुन बिनम्र अनुरोध गर्छु। मेरो कुरा गलत लाग्यो भने, यो कारणले गलत छु भनिदिनु भयो भने मैले मेरो बुझाइ सुधार्ने अवसर पाउने छु।
१. पेट्रोल १ सय १३ रुपैयाँ पुगे पनि १ हजार १ सय १३ नै पुगे पनि यदि त्यो अन्तर्रास्ट्रिय मूल्य अनुकूल नेपाल सरकारले निर्धारण गरेको हो भने जायज छ।
२. खाना बनाउनका लागि अझै पनि साचै गरिव नेपाली जनताले घास, दाउरा, गुइठानै बाल्ने गर्छन्। उनीहरुलाई पेट्रोल, डिजलको भाउ बढेर खासै धेरै फरक पर्दैन।
३. इन्धनको भाउ बढ्यो भने गरिवलाई पनि असर गर्छ भन्ने एक हदसम्म सत्य हो। त्यस्तो अवस्थामा खाना बनाउनका लागि मट्टितेल, सिलिण्डर ग्यासनै किन्न नसक्ने गरिवलाई मासिक निश्चित मात्रामा केहि सस्तो दिन सकिन्छ तर पेट्रोल, डिजेलको भाउ लगभग टाट पल्टेको राज्यले घाटा बेहोरेर बेच्नु हुँदैन।
४. भर्खरै सार्वजनिक यातायातको सिण्डिकेट तोड्न सरकार होमिएको छ। सस्तो लोकप्रियतामा सिमित नबनाएर यसलाई प्रभावकारी बनायो सरकारले भने नेपालमा भएको ९०% बाइकको आवश्यक्तानै पर्दैन। सोखका लागि मोटरबाइक र कार चलाउनेले पेट्रोलको १ सय १३ मात्र होइन १ हजार १ सय १३ पनि तिर्न तयार हुनैपर्छ। नसक्नेले सार्वजनिक यातायात चढ्ने, साइकल चढ्ने, भैसी चढ्ने, हात्ती चढ्ने, घोडा चढ्ने, हिढ्ने, कुद्ने जस्ता बिकल्प रोज्नुपर्छ। प्रदुषण पनि कम हुन्छ अनि स्वस्थलाई पनि लाभ हुन्छ।
५. मलाइ इन्धनको भाउ बढ्यो भनेर आन्दोलित हुने, आलोचना गर्ने देखि अचम्म लाग्छ। अहिले मात्रै होइन मैले बिगतमा पनि भाउ बढेको समर्थन गरेको छु। यिनीहरु २ किलो मिटर टाढाबाट किसानसंग प्रति केजी रु २० मा किनेको सागसब्जी बजारमा रु १०० चुपचाप तिर्न तयार हुन्छन्। लगभग प्रत्यक कृषिजन्य बस्तुमा यस्तै लुट छ । बिचौलिया र ब्यापारी मिलेर किसान र ग्राहक लुटेको बारे उनीहरु चुइक्क बोल्दैनन्। तर सात समुन्द्र पारिबाट मूल्य निर्धारित भएर आउने पेट्रोलको भाउ बढाउँदा चाहीँ आकाश खसे जस्तो गर्छन्।
६. भारतमा भन्दा नेपालमा इन्धन सस्तो भएकाले, नेपालबाट भारतमा इन्धन ठुलो मात्रामा ढुवानी तस्करी हुन नदिन बिशेष तयारी गर्नुपर्छ । नयाँ मूल्यअनुसार भारतमाभन्दा नेपालमा पेट्रोल एक लिटरमा २२ र डिजेल २४ रूपैयाँ सस्तो छ।
७. नेपाल आयल निगम मैले बुझेसम्म अहिले पनि घाटामै छ। मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १.५९ रूपैया र डिजेलमा ३.४९ रूपैयाँ घाटा छ । ग्यासमा प्रतिसिलिन्डर १३९ रुपैयाँ घाटा छ। तर बिगतमा उनीहरुले लाखौ करोडौ बोनस बाड्ने गरेको समाचार पढेको थिएँ। यो लुट अझै जारी छ भने सरकारले तुरुन्त रोक्नुपर्छ। निगमका असक्षम र भ्रष्ट पदाधिकारीलाइ बर्खास्त गर्नुपर्छ । ढुवानीको क्रममा हुने इन्धन चोरी लगायतका लुट रोक्न सक्ने इमानदार नेतृत्वलाई निगम जिम्मा दिनुपर्छ ।
८. तत्कालका लागि सरकार इमानदार भएको खण्डमा महंगी नियन्त्रण, बिचौलिया र दलालको लुट रोक्ने गर्न सकिने कुरामा सरकारलाई घचघच्याउनु पर्छ । भबिष्यमा ओलीले भने जस्तै घर घरमा पाइपबाट ग्यास र इन्धन गाडी नभई बिधुतीय र सौर्य उर्जाबाट इन्धनको पूर्ति गर्नुपर्छ । यी काम गर्न इमानदार सरकार चाहिन्छ, ओलीमा त्यो इमान छ छैन भन्ने कुरा अहम बिषय हो ।