‘कामी दमाईंलाई घर भित्र पस्न दियो भने देउता रिसाउँछन्’, ‘दुध हालेको चिया कामी दमाईंलाई दियो भने दुध सुक्छ, बस्तु बिरामी हुन्छन’ । म र म भन्दा अघिल्लो पुस्ताका अधिकांसले आफ्ना आमा बुबा र हजुरबुबा हजुरआमा बाट यी कुराहरु सुन्दै हुर्किएका हौं ।
यद्धपी मलाई यि कुराले कहिल्यै प्रभाबित गरेन । बास्तबमै हिन्दु धर्मले जातीय बिभेदलाई स्वीकार गरेको छ वा छैन भन्ने कुराको तथ्य बुझन मन लाग्थ्यो । सानै उमेरमा मैले जातीय बिभेद घरबाटै न्यूनिकरण गर्ने प्रयास गरेको थिएँ ।
म सानो हुँदा मान्छे र गाई बस्तु बिरामी हुँदासमेत घरमा धामी बोलाउने चलन थियो । उनीहरु आउथे, फुकफाक गर्थे, सातो बोलाउथे, कोइलामा खुर्सानी हालेर सुघाउथे, झुम्रो बालेर सुँघाउथे, कहिलेकाही उफ्रन्थे, जोखना हेर्थे ।
उनीहरुको मन्त्र र फुकफाकले, मनोबैज्ञानिक कारणले अथया अन्य जे कारणले भए पनि कहिले काहीँ ठिक हुन्थ्यो । यी कुरा सामान्य थिए । मलाई असामान्य भने बिराम निको पार्न आउने धामीहरुलाई गरिने बिभद देखि लाग्थ्यो । पछि साहस बटुलेर मैले किन उहाँहरुलाई दुध हालेको चिया नदिनु भएको, किन उहाँहरु कहिल्यै घर भित्र पस्नु हुँदैन, हामी सँगै खाटमा नबसेर किन अलिक पर मुडामा बस्नु हुन्छ भनेर हजुरआमालाई सोधेँ । ‘कामी दमाईं हुन नि त’ भनेर जबाफ पाएँ । त्यो बेला किन र कसरी भन्ने कुरा बुझिन, उमेर पनि सानै थियो ।
कक्षा ९ मा अध्यनरत थिएँ । हाम्रो गाइ खै किन हो बिरामी भइ राख्थ्यो । गाउँमा ‘कामी ठुल्दाई’ र अर्को एक जना समाजले सानो जात भन्ने थर हुने धामी अंकल हुनु हुन्थ्यो । म उहाँहरुलाई लिन जाने, फुकफाक पस्चात गाई निको हुने सामान्य रुपमा चलिरहेको थियो ।
मैले एक दिन हजुरआमालाई धामी अंकललाई दुध हालेको चिया दिउ भन्ने प्रस्ताब राखेँ । एकछिन पनि नसोची हुँदैन भन्ने जबाफ सहित गाली पनि खाए । मैले स्कुलमा शिक्षकहरु बाट जातिय बिभेद गैर कानुनी, अबैज्ञानिक छ र हिन्दु धर्मको मर्म बिपरित छ भरेर सिकेको कुराले आमालाई अलिकति पनि छोएन ।
छुने कुरा पनि भएन लेखपढ गर्ने अवसर बाट बन्चित हजुरआमालाई उहाँको पनि आमाबुबा र हजुरबुबा हजुरआमाले सिकाउनु भएको कुरानै सम्पूर्ण सत्य लाग्नु सामान्य थियो । गाई निको पारिदिने धामी अंकलले आफैले उपचार गरेको गाईको दुध समेत खान नपाउने कस्तो लाजमर्दो बिभेद होला हाम्रो समाजकोे भनेर कोसिस जारी राखेँ ।
एउटै अनुरोध पटकपटक सुनेर वाक्क भएकाले वा खै किनहो एक दिन हजुरआमाले रिसाउदै ‘गाई मर्यो भने खालास’ भन्दै दुध हालेको चिया खान दिने सहमति जनाउनु भयो । मलाई ठूलो युद्ध जितेको आभास भयो । मेरो पुस्ताबाट अब अमानवीय जातिय बिभेद अन्त्य हुन्छ र हजुरआमा पुस्तामा पनि परिबर्तन बिस्तारै आउने छ भन्ने कल्पनामा रमाए । तर त्यो खुसी धेरै टिक्न सकेन ।
धामी अंकललाई दुध हालेको चिया दिएको केहि दिन पनि नबित्दै गाईको दुध घट्दै गयो । धामी अंकलको फुकफाकले पनि छुन छाड्यो । करिब १ महिना अघि दुध खान किनेर ल्याएको गाई मैरै कारणले बिरामी भयो भन्ने चिन्ता बढ्न थाल्यो । हजुरआमाले ‘देखिस होला नि के हुँदो रहेछ कामीलाई दुध खुवाउदा’ भनेको कुराले धेरै सतायो, तर्सायो । एक मनमा हजुरआमाले भनेको कुरा साँचो हो रहेछ जस्तो लाग्यो किनकि गाइ सुकेर मर्न लागिसकेको प्रमाण मेरै आखा अघि थियो । अर्को मनले कामी अकंलकै कारण गाई मृत्यु नजिक पुगेको कुरा स्वीकार्न मानि रहेको थिएन ।
धेरै कुरा मनमा खेले । ममीबुबा, हजुरआमा सबै रिसाउनु होला, कुट्नु होला भन्ने चिन्ता पनि बढिरहेको थियो । भेटनरी डाक्टरसँग गएर बुझ्न मन लाग्यो । अहिले सम्झदा धन्न त्यो बुद्धि पुर्याएँछु भनेर खुसी लाग्छ । मेरो सबै कुरा सुने पछि डाक्टरले हाँस्दै प्रश्न गर्नु भयो, गाई कहिले र कहाँ बाट किनेको ?’ । मैले करिब एक महिना अघि हकर्टे तिर बाट हो भन्ने जबाफ फर्काए । अनि डाक्टरले ‘कामीले छोएर नभइ गर्मीले छोएर हो गाई बिरामी भएको’ भन्नुभयो । मैले उक्त कुरा घरमा गएर मजाले बुझाइ दिन अनुरोध गरे ।
घरमा गएर उहाँले ‘जाडो ठाउँमा हुने गाईले गर्मी सहन नसकेको र खानपिनमा पनि फरक भएकाले गाई सुक्दै गएको’ कुरा बताउनुभयो । सबैले डाक्टरको कुरा बिश्वास गर्नु भयो । सम्भवत मैले भेटनरी डाक्टरलाई त्यो दिन नभेटेको भए जिन्दगी भर हजुरआमाको ‘दुध हालेको चिया कामी दमाईंलाई दियो भने दुध सुक्छ, बस्तु बिरामी हुन्छन’ भन्ने भ्रमलाई यर्थाथ मान्ने थिए ।
अहिले म मन मस्तिष्क बाट जातीय बिभेद र छुवाछूतको बिरोध गर्छु । हाम्रो हिन्दु धर्मले जन्मकै आधारमा सानोर ठूलो जात भनेको छैन भन्ने मेरो दृड बिश्वास हो । अपब्यखा गर्ने केही धुर्त, फटाहा ,षोशकहरुले धर्मको अपमान गरेर भए पनि आफ्नो स्वार्थ पुर्तीका लागि बिभेदलाइ स्थापित गरेका हुन ।
हिन्दु धर्म भनेर २४ घन्टा फतफताउने , मठ मन्दिर र पुराण धाउनेहरुले अब बोल्ने बेला भएन ? अब हामी अलि अलि पढेका, बुझेका, संसार देखेका भन्नेहरुले यो अमानवीय कुप्रथाको बिपक्षामा उभिने बेला भएन र ? मैले बुझेको हिन्दु धर्मले जन्मेकै आधारमा कसैलाइ उच्च र निचो जात भन्दैन। बिडम्बना यस्तै अमानवीय जातिय र लैङिक बिबेदको फाइदा उठाउदै शक्तिकेन्द्रहरु धर्म परिवर्तन गराउछन अनि तपाईं हामी उनीहरुलाई जान अन्जानमा साथ दिन्छौं । के हामी बिभिन्न शक्ति केन्द्रहरुले अमानवीय जातीय बिभेदको बारुदलाई आगो सल्काइदिउन भन्ने प्रतिक्षामा छौं ?
तुलनात्मक रुपमा नेपालकै एक शिक्षित जिल्ला भनेर चिनिने झापामा हालसालै एक सानो जात मानिएको बिधार्थीलाई श्री कृष्ठ दैरपायन गुरुकुल बेद विद्याश्रमले भर्ना नलिने निर्णय गरेको छ । ‘हाम्रा बटुकहरु हरेक दिन धार्मिक कार्यक्रममा सहभागी हुनुपर्ने भएकोले दलित विद्यार्थीको संलग्नता व्यवहारिक रुपमा समाजले स्वीकार्दैन’ भन्ने गुरुकुलको भनाई नेपालको संविधान बिपरित छ । जातीय बिभेद गर्ने जो कोहीलाई हदैसम्म दण्ड जरिवाना गरेर बिधार्थी भाइको पढ्न पाउने संवैधानिक अधिकारको रक्षा हुनुपर्छ । सरकारले दण्डनीय भनेको जातिय बिभेदलाई प्राथमिकताका साथ कार्यन्वयन गर्नु पर्छ ।
भेदभावको प्रकृति र मात्रा फरक हुन सक्छन् तर नेपाल जस्तो अबिकसित देशमा मात्र नभइ संसारका बिकसित र बिकासशील देशहरुमा धन, जात, रंग, धर्म, लिंग लगायतका आधारमा थिचोमिचो र बिभेद हुनेगर्छ । बिभेदरहित देश बनाउन असम्भब हुने कुरा कटु सत्य हो तर राज्य र सचेत नागरिकले इमान्दार प्रयास गरेमा सबै प्रकारमा बिभेद न्युनिकरण भने सहजै गर्न सकिन्छ ।
अहिलेका केही पढे लेखेकै युवा पुस्तामा पनि जातीय छुवाछुतले जरो गाडेको, गाड्दै गएको पाएको छु । यसको बेलैमा रोकथाप नगर्ने हो भने हिन्दु धर्म भित्रका अमानवीय कुप्रथाले नेपाली समाजलाई कहिले पनि माथि उठ्नै दिँदैन ।बिशेष गरि युवा पुस्ता, त्यस्मा पनि पढे लेखेका पुस्तालाई हिन्दु धर्ममा जातीय बिभेद छैन र केही स्वार्थी र पाखण्डीहरुले बिभेदलाई निरन्तरता दिएका हुन् भन्ने चेत भर्ने कोसिस गर्नुपर्छ । तसर्थ आफुलाइ मानव ठान्ने, बिबेक भएको ठान्ने सबैले जातिय बिभेद र छुवाछूतको बिरोध गरौं । आफू पनि बिबेद नगरौं र अरुलाइ पनि न गर्न प्रोत्साहन गरौं ।
हाम्रो हजुरबुबा हजुरआमा र आमा बुबाको पुस्तालाइ हामीले फलानोले (कथित सानो जात ) छोएको खानु भनेर जबर्जस्ती गर्नु हुँदैन, उहाँहरुलाइ जे सिकाइयो त्यही गर्नुभयो । बास्तबमा कसैले छोएको खाना खाने वा नखाने कुरामा कसैलाई पनि जबर्जस्ती गर्नु हुँदैन किनकि फलानोले छोएको खानैपर्छ भन्नेमा समस्या नै होइन । केहीलाइ आफैले बनाएको मात्रै खान मन होला, केहीलाई बाहुन क्षेत्री वा अरु कसैले छोएको खान मन न होला, त्यो उनीहरुको व्यक्तिगत स्वतन्त्रताको कुरा हो । यद्दपि सानो जात भनेर हेप्ने, कुट्ने, मलमुत्र खुवाउने, होटलमा आफ्नो थाल बटुका लग्नु पर्ने, होटलमा खाएर आफै मोल्नु पर्ने, मन्दिर पस्न नदिने, सार्वजनिक ठाउमा निषेध गर्ने, सार्वजनिक धारा प्रयोग गर्न नदिने, कानुनले दिएको उमेर पुगे पछि बिबाह गर्ने अधिकार प्रयोग गर्दा सानो जात भनिएकै कारण कुटिनु र मारिनु पर्ने, सार्वजनिक स्कुलमा अध्ययन गर्न नपाउने लगायतका अमानबिय र गैर कानुनी कुरा दण्डनीय हुन, हुनै पर्छ ।
केही मानिसहरु अशिक्षाले गर्दा जातिय बिभेद हुने गरेको तर्क गर्छन, जुन पूर्ण सत्य होइन । शिक्षाको कमी नभइ हेपाहा प्रवृर्ति छुवाछुतको मुख्य कारण हो, किनकि बर्षौदेखि लेखपढ गर्न बिशेषाधिकार पाएको समुदायलेनै अहिले बिभेद गरिरहेका छन् । डिग्री गर्नु र सबै मानिस समान हुन भन्ने ज्ञान हुनु एउटै कुरा होइन । समाजमा अशिक्षितहरुले भन्दा पनि शिक्षित र भेदभाव दण्डनीय अपराध हो भन्ने जानेकाहरुलेनै बिभेदको रेखा कोरेका छन् । तसर्थ हाम्रो शिक्षा प्रणाली, संस्कार, रिती रिवाजमा मानिस जन्मका आधारमा सानो ठुलो हुदैन भन्ने नैतिक ज्ञान दिन आवश्यक छ ।
हिन्दु ग्रन्थहरु कहिले नपढ्ने, पढे पनि आफ्नो स्वार्थ अनुसार ब्याख्या गर्ने र पूजापाठलाई गरि खाने पेसा मात्र बनाएकाहरुलाई नभइ हिन्दु धर्मको राम्रो अध्ययन गरेका पण्डितहरुलाई समाजलाई सचेत बनाउन राज्यले अनुरोध गर्नुपर्छ । मानिस तपस्या गरेर, निबेदन दिएर वा मेहनत गरेर नभइ संयोगले कुनै जात वा धर्ममा जन्मने भएकाले कसै माथि बिभेद गर्नु मानबअधिकारको गम्भिर उलंघन र दण्डनीय अपराध भएको जनचेतना फैलाउनु पर्छ ।
meetsumanbaral@yahoo.com