काठमाण्डाैं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ५८ बुदे मार्ग चित्र सार्वजनिक गरेको छ ।
आईतबार सिंहदरबारमा एक कार्यक्रमका बीच कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रको सुधारका लागि आवश्यक ५८ बुदे मार्ग चित्र सार्वजनिक गरेका हुन् । मार्ग चित्र सार्वजनिक गर्दै मन्त्री खनालले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन आवश्यक नीतिगत र संरचनागत व्यवस्था गर्न मार्गचित्र तय गरिएको बताए ।
मार्ग चित्रमा खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको सुनिश्चितताका लागि मुलुकको संघीय शासन संरचना अनुकूल हुनेगरी आवश्यक नयाँ नीति तथा ऐनको तर्जुमा गरिने उल्लेख गरिएको छ । त्यसैगरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालगायत कृषि, पशुपंक्षी क्षेत्रबाट संचालित अन्य परियोजना तथा कार्यक्रमका दस्तावेजहरुको समायानुकूल परिमार्जन गरिने उल्लेख छ ।
स्थानीय, प्रदेश र संघ सबै तहमा तथ्यांक व्यवस्थापनका लागि सूचना प्रणाली स्थापना गर्ने योजना पनि सरकारले अघि सारेको छ । मन्त्री खनालले कृषि उपजको व्यवस्थित भण्डारणका लागि ७ वटै प्रदेशमा सार्वजनिक–निजी–सहकारी क्षेत्रको सहभागितामा कम्तिमा १ लाख मेट्रिक टन क्षमताका ठूला गोदाम घर स्थापना गरिने बताए ।
मार्गचित्रमा भूगोल सुहाउँदो कृषि यान्त्रिकीकरण गर्ने, सबै स्थानीय तहको माटोको उर्वराशक्ति नक्सा तयार परेर मात्रै खेती गर्ने पनि उल्लेख गरिएको छ । मन्त्री खनालले माटोको उर्वराशक्ति स्तरोन्नतिका लागि एकीकृत खाद्यतत्व व्यवस्थापन तथा गोठेमल सुधार कार्यक्रमलाई अभियानका रुपमा संचालन गर्ने योजना पनि अघि सारिएको बताए ।
मार्गचित्रमा जग्गा धनी र मोहीबीचको दोहोरो स्वामित्वसम्बन्धि समस्या समाधान गर्ने प्रतिवद्धता पनि जनाइएको छ ।