मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्यले करीव तीनदर्जन बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराएका छन् । नगर प्रमुख आचार्यले आर्थिक अभावका कारण विद्यालय पुग्न नसकेका ३५ जना विभिन्न क्षेत्रका मजदुरका बालबालिकालाई आइतबार मेचीनगर नगरपालिका—७ स्थित गोमनसरीमा रहेको अरनिको आधारभूत विद्यालयमा पुगेर विद्यालय परिसरमा आयोजित एक कार्यक्रममा भर्ना गराउँदै अभिभावकत्व ग्रहण गरेका हुन् । भर्ना भएका अधिकाँश चियालगायत अन्य मजदुरका छोराछोरी हुन् ।
‘हामी सवैको इच्छा अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने मुख्य नारासहित बैशाख १ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान शुरु भएको छ । अभियानमा प्रधानमन्त्री, मन्त्री, सांसदसहित स्थानीय तहका जनप्रतिनिधिहरु समेत सक्रिय भएर लागेका छन् । यसै क्रममा पढ्न उमेर भएका सबै बालबालिकालाई विद्यालय पुर्याउने उद्देश्य तथा आर्थिक अभावकै कारण पढनबाट बञ्चित स्थानीय बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराएको प्रमुख आचार्यको भनाई छ । ३५ जना विद्यार्थीको भर्ना शुल्कदेखि अन्य खर्च समेत सवै उनले आफै व्यहोर्ने र आर्थिक अभावकै कारण विद्यालय जान नसकेका नगरका धेरै बालबालिकालाई शिक्षा शिक्षा दिनका लागि अन्य विद्यालयमा समेत धेरैको अभिभावकत्व ग्रहण गर्ने उनको भनाई छ ।
समाजका शिक्षासेवी र अग्रज व्यक्तिले विद्यालय जानबाट बञ्जित बालबालिकालाई विद्यालय भर्ना गराउँदा वा अभिभावकत्व ग्रहण गर्दा पढ्ने उमेरका सबै विद्यालय पुग्ने भएकाले यो अभियानमा लाग्न प्रमुख आचार्यले सवैलाई आग्रह गरे । मेचीनगर नगरपालिकामा बसोबास गर्ने र विद्यालय जानबाट बञ्चित बालबालिकालाई विद्यालयसम्म पुर्याउन जरुरी रहेको उनले बताए । यस्तो कार्यबाट आफ्ना छोराछोरीलाई पढाउन अन्य अभिभावकलाई पनि प्रेरणा मिल्ने विचार नगर प्रमुख आचार्यको छ ।
कक्षा १ देखि ६ सम्म पढाई हुने सो विद्यालयमा हाल २ सय २३ जना विद्याथी रहेका प्रधानाध्यापक अग्निप्रसाद घिमिरेले बताए । विद्यालयमा अध्ययनरत झण्डै ८० प्रतिशत विद्यार्थीका अभिभावक मजदुरी गर्दछन् । अभियान शुरु भएयता ४६ जना नयाँ विद्यार्थी भर्ना भएका छन् । विद्यार्थीलाई भर्नाका आर्कषण गर्न बालबालिकालाई दिवा खाजा, निःशुल्क पोशाक, शान्त वाताबरण तथा बालमैत्री अध्ययन अध्यापन गराईने प्रधानाध्यापक घिमिरेले बताए ।