मेचीनगर । नेपाल सरकारको कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रम अन्तर्गत सिञ्चाई पूर्वाधारसहितको हाइटेक (उच्च प्रविधियुक्त) नर्सरी मेचीनगरमै पहिलो पटक आइतबारबाट सञ्चालनमा आएको छ । मेचीनगर–९ का युवा डिल्लीराज उप्रेतीले एक कठ्ठा जग्गामा उक्त हाइटेक नर्सरी निर्माण गरेका हुन् ।
उक्त हाइटेक नर्सरीमा सबैखाले बाली लगाउन सकिनेछ। कृषिमा उच्चतम प्रविधिको प्रयोग गर्दै आएका उप्रेतीको यो अर्को प्रयास हो।
जिल्ला कृषि विकास कार्यालय झापा मार्फत ८ लाख ९४ हजार ४ सय ९२ रुपैयाँ सरकारी अनुदान प्राप्त र डी एन्ड डी वायोप्लानटेकको २ लाख ९८ हजार १ सय ६४ रुपैयाँगरी कुल ११ लाख ९२ हजार ६ सय ५६ रुपैयाँ खर्च भएको सञ्चालक उप्रेतीले बताए ।
खेती पद्धतिलाई अत्याधुनिक र ब्यावसायिक बनाउन नेपाल सरकारको आर्थिक सहयोगमा हाइटेक नर्सरी तयार गरिएको उनको भनाई छ । एक कठ्ठा जमिनमा तयार गरिएको हाइटेक नसरी पूर्ण रुपमा वाताअनुकूलित छ । नर्सरीभित्र बर्षैभरि खेती गर्न सकिने उप्रेतीले बताए ।
२ सय माइक्रोनको प्लास्टिकबाट बनाइएको नर्सरीको टनेलमा घाम छिर्ने, पानी नछिर्ने, नच्यातिने बनाइएको छ । नर्सरी भित्रै थोपा सिञ्चाइको ब्यवस्था छ भने बिशेष प्रकारले ब्यवस्थापन गरेर टनेलको छतबाट पानी स्प्रे गरी चिसोपन कायम राख्ने ब्यवस्था समेत गरिएको छ ।
प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीले उक्त नर्सरीको उद्घाटन गरेका थिए । उद्घाटनपछि बोल्दै प्रदेशसभा सदस्य बुढाथोकीले यो नर्सरीले कृषिलाई आधुनिकीकरण गर्दै व्यवसायिक खेतीतर्फ लाग्ने अभियान शुरु भएको बताए ।

मेचीनगर प्रमुख विमल आचार्यले नगरपालिका नगरलाई विषादी मुक्त नगर बनाउन लागि परिरहेका बखत हाइटेक नर्सरीले थप सहयोग पुगेको बताए । उनले व्यवसायिकरुपमा किसानले उत्पादन गरेका कृषि वस्तुको विक्री वितरणका नगरका विभिन्न स्थानमा विक्री केन्द्रको स्थापना गर्ने समेत बताए ।