काठमाडौं । मनाङबाट प्रदेशसभामा विजयी दीपक मनाङे भनिने राजीव गुरुङ ज्यान मार्ने उद्योग मुद्दामा तोकिएको सजायअनुरूप बिहीबार स्वयम्भुबाट पक्राउ परेका छन्। उच्च अदालत पाटनले गरेको फैसलाअनुसार मनाङेलाई पक्राउ गरिएको हो। उनी मनाङ प्रदेश ‘ख’बाट विजयी भएका हुन्।
मनाङेलाई ‘मोबाइल ट्रयापिङ’ मार्फत स्वयम्भू तीनधाराबाट समातिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।
एक महिनाको प्रयासपछि फोनमार्फत लोकेसन पत्ता लगाएर समात्न सफल भएको प्रहरीले जनाएको छ। ‘उच्च अदालत पाटनको अन्तिम फैसला कार्यान्वयनका लागि उहाँलाई पक्राउ गरिएको हो। तीनधारास्थित एउटा घरमा लुकेर बसेको अवस्थामा मनाङेलाई पक्राउ गरिएको हो’, पोखरेलले भने, ‘उहाँ अहिले परिसरमै थुनामा हुनुहुन्छ।’
पोखरेलका अनुसार मनाङेलाई शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई कारागार पठाइनेछ। काठमाडौं जिल्ला अदालतको अभिलेखमा मनाङेले पुर्पक्षका लागि थुनामा राखेको दुई वर्ष अवधि कटाएर तीन वर्ष कैद सजाय भुक्तान गर्न बाँकी छ।
अन्नपूर्ण पोस्टबाट