काठमाण्डौं । माओवादी केन्द्र केपी ओली नेतृत्वको सरकारमा आज सहभागी नहुने भएको छ । आज हुने भनिएको मन्त्रिपरिषद् विस्तार पर्याप्त गृहकार्य नपुगेको भन्दै भोलिका लागि सारिएको छ ।
मन्त्रालय बाँडफाँट र सरकार विस्तारका लागि आज बालुवाटारमा बसेको प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको छलफलले ठोस निष्कर्ष निकाल्न नसकेको हो । एकै पटक सरकारलाई पूर्णता दिने वा तत्कालका लागि केही सदस्य थपेर मन्त्रिमण्डल विस्तार गर्ने भन्ने विषयमा दुवै नेताबीच छलफल भए पनि यसको टुंगो लाग्न सकेन ।
मन्त्रिमण्डलमा सहभागी हुने आकांक्षीको संख्या धेरै भएपछि त्यसलाई व्यवस्थापन गर्न शीर्ष नेतृत्वलाई कठिन परेको छ । थप छलफल गरेपछि मात्र माओवादीले मन्त्रीहरुको टुंगो लगाउने भएको छ ।
मन्त्रालयको संख्या, त्यसको स्वरुप र नामकरण नभएको अवस्थामा तत्काल मन्त्रिपरिषद् विस्तार गर्न समस्या देखिएको माओवादी केन्द्रले जनाएको छ । वाम गठबन्धनका शीर्ष नेता राजकीय पदको प्याकेजमै डिल गरेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका छन् ।